पूर्वाञ्चल खबर
निर्वाचनमा चुनाव विरोधी संगठनले मतदातालाई त्रसित पार्ने गतिविधि गर्नसक्ने भएकोले त्यसलाई रोक्न प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
प्रहरीले एक साताको अवधिमा चुनाव विरोधी गतिविधिमा संलग्न नेकपा विप्लब समूहका १४ जना कार्यकर्तालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
‘चुनाव बिरोधी गतिविधी जस्ले गर्छ त्यसलाई नियन्त्रणमा लिन्छौं,’ एसपी बिसीले भने, ‘शंकास्पद गतिविधि गरेको देखिए तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्छाैं ।’ जिल्लाका ७ सय ५८ वटा मतदान केन्द्र र ३ सय वटा मतदान स्थलको सुरक्षा प्रदान गर्न पनि विशेष योजना निर्माण भएको छ ।
मोरङमा ३ हजार १ सय ५६ जना म्यादी प्रहरी र मतदान स्थलको अवस्था हेरेर प्रहरी परिचालन गरिनेछ । संम्वेदनशिल मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन हुनेछ । कुनै ठाउँमा शंकास्पद वस्तु फेला परेमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गर्दै बिसीले बम निस्कृय पार्न नेपाली सेना र प्रहरीको डिस्पोज टोली तयारी अवस्थामा रहेको बताए । प्रहरीले मोरङको ७० वटा मतदान केन्द्रलाई विशेष संम्वेदनशिल रहेको बताएको छ । त्यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचान गरिनेछ ।