पूर्वाञ्चल खबर

दुवैलाई आज विराटनगरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका थिए । एमालेमा प्रवेश गरेका राजवंशी विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका सहअध्यक्ष थिए । उनले पहिलो संविधानसभामा काँग्रेसका महेश आचार्यलाई भारी मतान्तरले पराजित गरेका थिए । मोरङको कटहरीका बासिन्दा उनको स्थानीय क्षेत्रमा बलियो प्रभाब रहेको छ ।
गिरी काँग्रेसलाई सत्तोसराप गर्दै एमालेमा प्रवेश गरेका हुन् । उनी बिराटनगरका चर्चित व्यवसायी तुल्सीराम अग्रवालको अपहरण काण्डका मुख्य योजनाकार मानिन्छन् । खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा बिराटनगरमा उमेश गिरीको जगजगी चलेको थियो ।
एनआईसी बैंक, कमला रोलिङ लगायतका उद्योग व्यवसायमा संलग्न उद्योगी अग्रवाल खड्का गृहमन्त्री भएको समयमा अवहरणमा परेका थिए । उनलाई पाँच करोड फिरौती लिएर छाडिएको बताइने गरेको छ । भारतीय गुण्डा पप्पु भूमिहारको समूहलाई परिचालन गरी फिरौती असुल गरिएको थियो ।
पहिलो स्थानीय चुनावका बेलामा दक्षिणी मोरङका विभिन्न ठाउँमा उमेश गिरीको समूहले एमाले कार्यकर्ताहरुलाई लखेटेर बुथ क्याप्चरसमेत गरेको थियो । गिरीले बुथ क्याप्चर गरेपछि एमालेले मतगणना बहिष्कार गरेको थियो भने निर्वाचन आयोगले कांंग्रेसको पक्षमा एकलौटी नतिजा सुनाएको थियो ।
२०४६ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको संरक्षण पाएका गिरीले ०४८ को आमनिर्वाचन, ०५१ को मध्यावधि २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने निकै ठूलो धाँधली गरेको स्थानीयको भनाइ छ । कांग्रेसलाई लगाएको सोही गुनको बदलामा उमेशले बिराटनगरमा करिब एक दशकसम्म एकछत्र गुण्डागर्दी गरेका थिए । गिरीले २०५१ को मध्यावधि निर्वाचनमा मोरङ–७ मा शैलजालाई हराउन बागी उम्मेद्वारी दिएका थिए । त्यसबेला गिरीले १० हजार बढी मत ल्याएका थिए ।
गिरी २०२८ सालमा जेल परेका थिए । २०३० सालमा थुनामुक्त भएपछि उनकोसमेत संलग्नतामा दुर्गा सुवेदीले हवाई अपहरणको योजना बनाएका थिए । प्रजातन्त्रको पुनःस्थापना २०४६ पछि गिरी काङ्ग्रेस नेतृ शैलजा आचार्यसित अत्यन्त नजिक र आचार्यका निजी सहायकजस्तै थिए । विराटनगरमा गुण्डागर्दीको नाइकेका रुपमा चिनिने गिरी पछिल्लो समयमा भने उमेरका कारणले पनि सामान्य अवस्थामा रहँदै आएका थिए ।