विना दर्ता संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो ।
महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज गरेको अनुगमनको क्रममा विना दर्ता संचालन रहेको पाइएपछि मेडिकुईस्ट ल्याब शिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । ‘महानगरपालिकामा विना दर्ता प्रयोगशाला संचालनमा रहेको उजुरी परेको थियो । उजुरीको आधारमा अनुगमन गरेका थियौं ।
एउटा घरको कोठा भाडामा लिएर ल्याब बिना दर्ता संचालन गरेको पाइयो,’ उनले भने, ‘ विना दर्ता मनलाग्दी रुपमा विरामीको स्याम्पल झिकेर विभिन्न जाँच गरेको पाइयो ।’ विना दर्ता संचालनमा आएको प्रयोगशालाले संकलन गरेको स्याम्पलहरु भारतको जोगवनी पढाउने गरेको पाइएको छ । ‘झापा, मोरङ र धनुषाबाट संकलन गरेको स्याम्पल विराटनगरमा ल्याएर भारत पढाउने गरेको पाएको छ,’ उनले भने । यसरी विभिन्न जिल्लाबाट संकलन गरेको स्याम्पलहरु भारत पढाउँदा यहाँभन्दा सस्तो बढी मुनाफा हुने भएकोले विना दर्ताको ल्याबमा उत्ता पढाउने गरेको बुझिएको छ ।
विना दर्ताको प्रयोगशाला सुनिल मण्डल र पंकज साहको रहेको छ । ‘अहिले प्रयोगशाला शिलबन्दी गरि अनुसन्धान सुरू हुने स्वास्थ्य महाशाखा प्रमुख अलीले भने, ‘थप अनुसन्धानपछि कसुरको अवस्था हेरेर थप कारवाही हुनेछ ।’
प्रयोगशाला संचालनको लागि विराटनगर महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर, विराटनगरको कोशी हस्पिटल अगाडी र हस्पिटल चोकतिर च्याउसरी खुलेको क्लिनीक र प्रयोगशालाहरु नाम मात्रको रहेका छन् । यहाँ रहेका धेरै प्रयोगशालाहरु विना दर्ताको रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया