खबर पूर्वाञ्चल
२९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । सीपमूलक र व्यवहारिक शिक्षा नदिएसम्म उत्पादित जनशक्तिले रोजगारी पाउन नसक्ने उनको भनाइ थियो । दक्ष जनशक्तिले मात्रै विश्वका जुनसुकै कुनामा गए पनि रोजगारी पाउने मेयर कोइरालाले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम पुरीले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिले जहिले पनि सत्य कुरा मात्रै बोल्ने गरेको दाबी गरे । कार्यक्रममा लामो समयदेखि विद्यालयमा कार्यरत घननाथ आचार्य, सशीलकुमार शाही र सुनिता परजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए ।