animated ellipse animated ellipse

लकडाउनको कारण इस्लाम धर्मावलम्बिले इद–उल–फित्र घरैमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्दै मनाए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७७, सोमबार १९:०३
144
Shares
घरैमा नवाज पढ्दै युवा व्यवसायी दिलशाद आलमको परिवार । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / इस्लाम धर्मावलम्बीहरु आज एकमहिने ‘रोजा’ ब्रत समापन भएको अवसरमा ईद उल–फित्र मनाएका छन् ।

एक महिनाअघि सुरु भएको मुस्लिम समुदायको रमजान पर्वको रोजा आकाशमा चन्द्रमा देखिएपछि विधिवत् रुपमा सम्पन्न गर्ने प्रचलन रहेको छ । रमजान पर्व सकिए लगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

यस पटक भने कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न मुलुक लकडाउनको अवस्थामा रहेकोले इद– उल– फित्र घरैमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्दै मनाएका छन् । देशका अधिकांश मस्जिदहरू बन्द छन् । विराटनगरका अधिकांश मस्जिद बन्द भएसँगै, मुस्लिम समुदायमा इदको माहौल अन्य वर्ष भन्दा यो वर्ष फिक्का उनीहरुले बताएका छन् ।

अरबी पात्रो हजारी सम्बत दशौँ महिनाको पहिलो दिन सम्बत अनुसार दसौँ महिनाको पहिलो दिन अर्थात् रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी इद–उल–मित्र मनाउने गर्दछन् ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट इद– उल– फित्र मनाउने चलन रहेको विराटनगर ११ का युवा व्यवसायी पप्पु अन्सारीले जानकारी दिए । उनको अनुसार दमाई विशेष नमाज आदा गरिसकेपछि आफूभन्दा मान्यजनको आर्शिवाद लिने प्रचलन रहिआएको छ । इदका दिन नजिकको मस्जिद तथा ईदगाहमा भेला भई सामुहिकरुपमा नमाज आदा गर्ने परम्परा रहेको भए पनि यो वर्ष कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम साथै लकडाउनका कारण घरैमा नमाज आदा गरी इद मनाएको अन्सारीले बताए ।

वैशाख ११ बाट सुरु भएको रमजान महिनामा बसिने रोजा (व्रत) को पनि आफ्नै विशेषता रहेको अन्सारीको भनाई छ । उनको अनुसार महिनाको पहिलो १० दिनमा आफूले गरेको सम्पूर्ण अपराधहरूको माफी माग्ने एक आपसमा कसैको मन दुखाएको छ भने प्रत्यक्ष भेटेर माफी माग्ने, दोस्रो १० दिनमा अल्लाहसँग आफ्नो आमाबुवा सेवाका लागि प्रार्थना गर्ने, आफ्नो आसपासको इष्टमित्रसँग खुसी साटासाट गर्ने, सुख, दुःख साटासाट गर्ने दुःख कष्टमा साथ दिने र तेस्रो १० दिनमा अल्लाहसँग आफूले गल्ती गरेको भए क्षमा माग्ने, राम्रो बाटो लग्न र भविष्य राम्रा होस भनेर प्रार्थना माग्ने धार्मिक आस्था रहेको छ ।

इस्लाम धर्मावलम्बिहरुको परम्परा अनुसार इच्छा अनुसार ७ वर्षको उमेर पुगे पश्चात् रोजा (व्रत) बस्ने प्रचलन रहेको छ । गत वर्ष राती नमाज बढ्नेहरूका लागि चिसो पानी बाँड्ने गरेको अन्सारीले यो साल लकडाउनका कारण अप्ठ्यारोमा परेका गरिब मुस्लिम समुदायका रोजेदार परिवारलाई दैनिक विभिन्न परिकार बनाएर बाँडेका छन् । पैसा हुनेले त मिठा, मिठा परिकार खाएर रोजा खाल्ने गर्दछन् नहुनेले पानी मात्रै खाएर रोजा बस्न बाध्य भएको अवस्थालाई मध्यनजर गर्दै एक महिनासम्म विभिन्न मिष्टान्न भोजन बनाएर वितरण गरेको अन्सारीले बताए ।

हरेक मुस्लिम समुदायको घरमा इदको केही दिन अगाडी देखि नै नयाँ लुगा लगाएर नमाज पढ्ने परम्परा रहेको भए पनि यो समय विश्वले भोगेको महामारी र कठिन परिस्थिति भएकाले ७० जना रोजेदार परिवारलाई अन्सारीले नयाँ लुगा समेत वितरण गरेका छन् ।उनले भने, दुखी असहाय खुसी भए अल्लाह खुसी हुनुहुन्छ, अल्लाह खुसी भए हामीलाई पनि खुसीको बदला खुसी नै दिनुहुन्छ ।

विराटनगर जनपद टोलका युवा व्यवसायी दिलशाद आलमले पनि यो वर्ष आफ्नै परिवारको सदस्यसँग घरैमा नमाज पढेर इद मनाएका छन् ।

सधैँको वर्ष मस्जिद तथा ईदगाहमा सामूहिक नमाज आधा गर्ने प्रचलन रहेको भए पनि सरकारले लगाएको लकडाउनको पालना गर्दै घरैमा रहेर नमाज आदा गरेर साथै फोन, सामाजिक सञ्जालको माध्यमबाट एक अर्कालाई शुभकामना आदान प्रदान गरेर मनाएको आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर