RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले गरे २९ औँ पटक दण्ड प्रणाम यात्रा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०८३, आईतवार ११:३५
18
Shares
विराटनगर / छठ पर्वलाई आस्था र संकल्पसँग जोड्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष पनि दण्ड प्रणाम यात्रालाई निरन्तरता दिएका छन् ।

पराजुलीले आज बिहान १० बजेबाट विराटनगर–३ स्थित ठूलोमिल चोकको राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट २९औँ दण्ड प्रणाम यात्रा सुरु गरेका हुन् । उनी मन्दिरबाट दण्ड प्रणाम गर्दै सिंघिया खोलास्थित छठघाटसम्म पुग्नेछन् ।

करिब पाँच किलोमिटरको दूरी शरीरलाई भुइँमा सुताएर दण्डवत् गर्दै पूरा गर्ने उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाटमा पुगेर टुंगिनेछ । छठ पर्वको अवसरमा हरेक वर्ष गरिने यो कठिन धार्मिक अनुष्ठानलाई उनले व्यक्तिगत मनोकामनाभन्दा माथि उठेर देश र विश्वकै कल्याणसँग जोडेको बताएका छन् ।

दुई दिनसम्म पानीसमेत नपिई गरिने छठ व्रतसँगै दण्ड प्रणाम यात्रामा सहभागी हुँदै आएका पराजुलीले यसलाई आफ्नो निरन्तरको धार्मिक संकल्पका रूपमा लिएका छन् । २९ वर्षसम्म आइपुग्दा पनि यात्राप्रतिको आस्था र उत्साह उस्तै रहेको उनको भनाइ छ ।

पराजुलीले दण्ड प्रणामको २९औँ वर्षको यात्रामा आइपुग्दा आफूले हरेक वर्ष व्रत समापन गर्ने सोच बनाए पनि छठ नजिकिएपछि रोक्न नसक्ने अनुभव पराजुलीले सुनाए । यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले हरेक वर्ष छठको व्रत समापन गरेको हुन्छु, तर त्यो कहिल्यै समापन हुँदैन । पोहोर साल नै समापन गरेको हुँ, यो वर्ष गर्छु भनेको थिइनँ । तर छठ आइसकेपछि शरीर अत्यन्त कम्पन जस्तो भएर एक किसिमको यस्तो ऊर्जा शरीरमा आउँछ कि म रोक्नै सक्दिनँ ।’

नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउने अभियान आफ्नो प्रमुख उद्देश्य रहेको बताए । त्यसका साथै विश्व शान्ति, लोककल्याण, राष्ट्रिय समृद्धि र देशको विकासका लागि छठी मातासँग प्रार्थना गर्दै आएको उनले उल्लेख गरे ।

व्यक्तिगत स्वार्थ वा मनोकामना पूरा गर्न नभई नेपाल र नेपालीको हित तथा विश्वमा बढ्दै गएको द्वन्द्व, वैमनस्यता र अशान्तिको अन्त्यका लागि दण्ड प्रणाम यात्रालाई निरन्तरता दिएको पराजुली बताउँछन् । छठी माताप्रतिको अटुट आस्था र देशहितको संकल्पसहित सुरु भएको पराजुलीको यात्रा धार्मिक आस्था र व्यक्तिगत प्रतिबद्धताको निरन्तरताका रूपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर