खबर पूर्वाञ्चल
मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा उत्रिएका आपसमा घनिष्ट सम्बन्ध रहेको भनिएका दुई नेताबीचको प्रतिष्पर्धालाई जिल्लाबासीले पनि चाखपूर्वक नियालीरहेका छन् ।
बाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सचिवालय सदस्य मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान तीब्र पारेका छन् भने उता काँग्रेसका उम्मेदवार आर्यालयले पनि घरदैलो अभियनलाई अगाडी बढाएका छन् । यसअघि मोरङको क्षेत्र नं. ४ बाट निर्वाचित मण्डल र साविकको क्षेत्र नं. ४ बाट निर्वाचन अर्यालबीच दुबै क्षेत्रको भूभाग मिलाएर बनेको नयाँ क्षेत्रमा प्रतिष्पर्धा भइरहेको छ ।
मण्डलले रंगेली कांग्रेसका नेता प्रदीप साह, पुनम सापकोटा तथा फÞोरमका दिलिप मण्डल, रामबाबु यादव, रामबाबु मण्डललगायतलाई पार्टीमा प्रवेश गराउँदै चुनावी अभियानलाई तीब्रता दिएका छन् । रंगेली गाविसका पूर्व अध्यक्ष साहसहित १८५ जना माओवादी केन्द्रमा प्रवेश गरेपछि क्षेत्रमा काँग्रेस झनै कमजोर बनेको माओवादीले जनाएको छ ।
कांग्रेसमा टिकट बितरण गर्दा राम्रालाई भन्दा आफ्नालाई अर्यालले च्यापेको भन्दै असन्तुष्टि रहेकोले मण्डलले त्यसको फाइदा उठाइरहेका छन् ।
प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवार बनेपनि अर्यालले प्रदेशसभा निर्वाचन र यसअघिको स्थानीय तह निर्वाचनमा पैसावाललाई मात्र अवसर दिएको भन्दै काँग्रेसको ठूलो पंक्ति असन्तुष्ट छ । जसले गर्दा उम्मेदवारी दर्ता भएको दुई साता वित्नलाग्दा पनि उनले चुनाबी अभियान सुरु गर्न सकेका छैनन् । अर्याललाई अहिले असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई सम्झाउँदैमा हैरानी छ ।
त्यसो त मोरङमा काँग्रेसभित्र डा.शेखर कोइराला र अर्यालको समूहबीच एकले अर्कालाई सिध्याउने खेल छ । यसअघि विराटनगर महानगरपालिकाको निर्वाचनमा मेयर बन्नलाई रोकेको भन्दै अर्याल कोइरालासँग रुष्ट छन् भने आपूmलाई असहयोग गरेको भन्दै कोइराला पनि अर्यालको सहयोगी बन्न सकेका छैनन् । आपसी द्वन्द्व र गुटबन्दीको कारण सो क्षेत्रका काँग्रेसका महासमिति सदस्य हसन अन्सारीसहितको ठूलो समूह काँग्रेसबाट विद्रोह गर्ने तयारीमा छ ।
नेता मण्डलले आफ्नो पार्टी गठबन्धनको अबको बहुमतको सरकार बन्ने भएकोले क्षेत्रको विकास र समृद्धिमा केन्द्रीत हुने चुनाबी एजेण्डासहति मतदाताको घरदैलोमा पुगेका छन् । वाम गठबन्धनबाट उत्साहित भएका मण्डल राजनीतिक स्थायित्व र विकासका लागि वाम एकता गरिएको सन्देश लिएर चुनावी घरदैलोमा छन् । यसअघिको निर्वाचन क्षेत्रमा आफूले गरेको उदाहरणीय काम नै आफ्नो जीतको आधार भएको उनको दावी छ । रोजगारीको अवसर सिर्जना गर्ने, प्रदेशको राजधानीका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न अनि विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने मण्डलकोे एजेण्डा छ । मोरङको क्षेत्र नं. ५ करिब ४१ किलोमिटर लम्बाईमा भारतसँग सीमा जोडिएको छ । सीमा क्षेत्रमा रहेका अवस्थित बसोबासलाई व्यवस्थित गर्ने एजेण्डा पनि उनले सारेका छन् ।
अर्याल पनि यसअघिको ५ वर्ष आफ्नो क्षेत्रमा धेरै विकासको काम गरेकोले चुनाव जित्ने दावी गरिरहेका छन् । यद्यपी यसअघि एमालेको सहानुभूति र संघीय समाजवादी फोरमका उपेन्द्र यादवमाथिको अन्तरघातको फाइदा लिएका अर्याललाई यसपटक दुबै अवसर छैनन् । विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली क्षेत्रको विकास गर्ने दुबैको एजेण्डा छ । अर्यालले बिराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने बताएका छन् ।
संघीय समाजवादीबाट फोरमबाट प्रतिनिधिसभामा राजकुमार यादव चुनावी मैदानमा रहेकोले यसअघि अर्याललाई गएको धेरै मत उनले रोक्ने आँकलन गरिएको छ । यस्तै उम्मेदवारी चयनमा देखिएको असन्तुष्टि र आन्तरिक द्वन्द्वको कारण क्षेत्रमा अर्याल रक्षात्मक बन्दै गएका छन् । त्यही भएर उनले फोरमका यादवलाई फिर्ता गराउन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवामार्फत प्रयास गरिरहेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता अशोक राईलाई काँग्रेसले सहयोग गरेकोले आफ्नो क्षेत्रमा पनि सहयोग गर्ने वातावरण तयार गर्न अर्याल गत साता काठमाडौं गएका थिए । तर, फोरमले अर्यालयको प्रस्तावलाई अस्वीकार गर्दै दुई नेतालाई काँग्रेसले गरेको सहयोगको वदलामा सुनसरी ३ मा काँग्रेसका बिजयकुमार गच्छदार र ४ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग गर्ने बताएपछि उनी निराश भएर फर्किएका छन् ।
सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वाम गठबन्धन नै अगाडि छ । क्षेत्रमा काँग्रेसको १६ हजार ३ सय ६९, समाजवादी फोरमको १२ हजार ९ सय ५४ र बाम गठबन्धनको १९ हजार ९ सय ६० मत रहेको छ ।