खबर पूर्वाञ्चल
प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा मोरङमा कांग्रेसबाट प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेका सबैले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनीहरुले विराटनगरलाई राजधानी बनाउन तीव्र रुपमा भौतिक पूर्वाधार निर्माणमा लागि पने समेत बताए । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महेश आचार्यले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको बताए ।
आचार्यले विराटनगरलाई मेडिकल सिटी बनाउने, बिमानस्थलको स्तरोन्नती गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने र जोगबनी–किमाथांका सडकलाई सुचारु गर्ने सबै उम्मेदबारहरुको मुख्य एजेण्डा भएको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभामा उठेका सबै क्षेत्रका उम्मेदवारहरुले आ–आफ्ना चुनावी एजेण्डा सुनाउँदै प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा मोरङ २ नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार डा. मीनेन्द्र रिजाल, १ नम्बर क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार डिगबहादुर लिम्बू, ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफ्ना क्षेत्रमा विकासको बाढी ल्याउने दाबी गरे ।