खबर पूर्वाञ्चल
विराटनगरस्थित पुस्तकालय प्राङ्गणमा आयोजित कार्यक्रममा कवि नवोदितले समसामयिक विषयवस्तुमा लेखेका कविता वाचन गरेका थिए । देवकोटा पुस्तकालयको ५९ औं वार्षिकोत्सवको समेत सन्दर्भ पारेर आयोजित कार्यक्रममा नवोदितले ‘सम्झनामा बा’, ‘देशका नाममा’, ‘सडकको मन’, ‘युद्धको तयारीमा’, ‘अक्षरहरु’, ‘एक वृद्धको बकपत्र’, ‘अन्तिम इच्छा’, ‘अचेल गाउँमा’, ‘रहर’ ‘रंगहरुका विरुद्ध’, ‘अनुहारको वयान,’ ‘जून र आमा र ‘युगको अन्तिम रात’ शीर्षकका १३ वटा कविता प्रस्तुत गरेका थिए । नवोदितले कविता वाचन गरिरहँदा दर्शकले हुटिङसमेत गरेका थिए ।
उनलाई कवि मञ्जुश्री गिरी, रमेशचन्द्र अधिकारी र दीपक शम्चुले एक–एक वटा कविता वाचन गरेर सघाएका थिए । डेढ दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितका फूलबारीभित्रका भमराहरु र झरीले रुझेको गाउँ कविता संग्रह प्रकाशित छन् । नवोदित ग्रामीण विषयवस्तुलाई सरल भाषाशैली र विम्ब प्रयोग गरेर लेख्ने कवि भएको वरिष्ठ समालोचक दधिराज सुवेदीले बताए । कवि नवोदितको व्यक्तित्व र कृतित्वका विषयमा साहित्यकार हरि कट्टेलले प्रकाश पारेका थिए । उनले ग्रामीण विम्ब र प्रतीकलाई नवोदितले टपक्क टिपेर कविता सिर्जना गर्ने गरेको बताए ।
देवकोटा पुस्तकालयले हरेक वर्ष एकल कविता वाचन कार्यक्रम आयोजना गर्ने गरेको छ । देवकोटा जयन्तीका अवसरमा ३ दिने कार्यक्रम आयोजना गरिएको पुस्तकालयका अध्यक्ष सुबोध निरौलाले जानकारी दिए । विगत एक दशकदेखि एकल कविता वाचन कार्यक्रमलाई पुस्तकालयले निरन्तरता दिइरहेको छ । यसअघि कवि कृष्णभूषण बल, मनु मञ्जिल, उमेश राई ‘अकिञ्चन,’ प्रमोद प्रधान, सीमा आभास, मञ्जुश्री गिरीलगायतको एकल कविता वाचन कार्यक्रम भइसकेको छ ।