पूर्वाञ्चल खबर
संक्रमण पुष्टि भई निधन भएका केहि व्यक्तिको शव अभिभावकले चिन्न नमानेको, शव छाडेर फरार भएको, आफन्तले सोधीखोजी नै नगरेको रहस्योघाटन भएको छ । विराटनगरका अस्पतालहरूमा कोरोनाबाट निधन भएका आधा दर्जन शव घर परिवार हुँदाहुँदै अलपत्र परेका थिए । संक्रमणले मृत्यु भएको शवका बारेमा सोधीखोजी गर्न कोहि आफन्त नआएपछि विराटनगर महानगर पालिकाका नगर प्रहरीको टोलीले स्वयंसेवकको सहयोगमा व्यवस्थापन गरेको थियो । चैत अन्तिमदेखि कोरोनाको दोस्रो लहर सुरू भएयता आफन्त हुँदा हुँदै वेवारिसे जस्तो शव व्यवस्थापन गरिएको थियो ।
कोरोनाका कारण नोबेलमा निधन भएको १, कोशी अस्पतालबाट २ र कोशी अस्पताल कोभिड उपचार केन्द्रमा निधन भएको २ व्यक्तिलाई वेवारिसे सरह महानगरपालिका नगर प्रहरीको कमाण्डमा अन्तिम संस्कार गरिएको थियो ।
नोबेलमा उपचाररत ५० वर्षीय एक पुरूषको कोरोनाले निधन भएपछि आफन्त भागे । रेकर्डमा ठेगाना रंगेली लेखिए पनि खोजतलास गर्दा कोहि आफन्त नभेटिए पछि शव वेवारिसे बन्यो । नगर प्रहरीको टोलीले स्वयंसेवकको सहयोगमा स्थानिय सिंघिया घाटमा शवको अन्तिम संस्कार गरेको थियो ।
नगर प्रहरी निरिक्षक राजन पौडेलले आफन्तले वास्ता खोजी नगरेका, बुझ्न नआएका र शव छाडेर भागेका ५ शवको अन्तिम संस्कार आफ्नो कमाण्डमा स्वयंसेवकको सहयोगमा नगर प्रहरीले गरेको बताए । उनले एक संक्रमितको मृत्यु नोबेल अस्पतालमा भएपछि उनका आफन्त शव छाडेर भागेको स्मरण गरे । विराटनगरमा भाडा गरी बस्ने चार संक्रमितको मृत्यु भएपछि आफन्तले सोधीखोजी गेनन् ।
शव व्यवस्थापनका लागि आफन्तको मञ्जुरीनामा लिन हम्मेहम्मे परेको पौडेल भन्छन् । काठमाण्डौका एक व्यक्तिको कोरोनाले विराटनगरमा निधन भयो । तर ती व्यक्तिका सबै आफन्त कोरोनाले प्रस्त भई काठमाण्डौमा उपचाररत भएपछि इमेलबाट शव व्यस्थापनका लागि मञ्जुरीनामा पठाए । नगर प्रहरी निरिक्षक पौडेलले २ जनाको हकमा भने आफन्त पत्ता लागेपनि तिनका आफन्तले मृतकको कुनै वास्तै नगरेकोले कानूनी र कागजी प्रक्रिया मिलाएर शव व्यस्थापन गर्नु परेको बताए ।