कांग्रेस उम्मेदवार भन्छन्, ‘उर्लाबारीलाई नमूना र समृद्ध बनाउने छौं’
पूर्वाञ्चल खबर
८ जेष्ठ २०७४, सोमबार २२:२७
3
Shares
गोपाल काफ्ले
पथरी,८ जेठ / नेपाली कांग्रेस उर्लाबारीका मेयर तथा उपमेयरका उम्मेद्वारले आफूहरूको नेतृत्वले अबको पाँच वर्षभित्र नेपालकै नमुना र समृद्धिको उर्लाबारी नगरपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आज उर्लाबारी–८ स्थित राई टोलमा भएको कार्यक्रममा मेयरका उम्मेद्वार खड्ग फागो र उपमेयरकी उम्मेद्वार सीता कार्कीले उर्लाबारीलाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि प्रतिबद्धता जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेद्वार फागोले सुकुम्बासी समस्या, बक्राहा–मावामा आउने बाढी नियन्त्रण, अपाङ्गता, एकल महिलालाई स्वाबलम्बी बनाउनका साथै घर–घरमा रोजगारीका बाटाहरू सिर्जना गर्न कृषि, पर्यटन र उद्योग व्यवसाय जस्ता कुरालाई प्राथामिकता दिई युवालाई रोजगारी दिने आफूहरूको योजना रहेको उल्लेख गरे ।
उनले उर्लाबारी कृषिको उर्वर भूमि रहेको उल्लेख गर्दै भूगोल र माटो अनुसार कुन बाली लगाउँदा उपयुक्त हुन्छ, प्राविधिक कृषि वैज्ञानिकसँग परामर्श गरेर सोही बमोजिमको बाली लगाउने व्यवस्था गर्ने बताए । यस्तै, बक्राहा खोलामा आउने बाढीले उर्लाबारीमा हजारौं खेतीयोग्य जमिन तथा घरवारविहीन बनाउने हुनाले यसको दीर्घकालिन स्थायी तटबन्ध निर्माणमा जोड दिने उनले उल्लेख गरे ।
उर्लाबारीमा सुकुम्बासी, नागरिकता वितरणमा समस्या रहेको उल्लेख गर्दै फागोले तत्काल नागरिकता सिफारिसमा पहल गर्नुका साथै सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउन आफू तत्पर रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका साथै एकल महिला तथा पुरूषहरूलाई क्षमता अनुसारको सीपमुलक तालिम दिएर उनीहरूलाई स्वालम्बी बनाउने आफ्नो योजना रहेको बताए ।
उम्मेद्वार फागोले छिमेकी मुलुक तथा विपक्षी पार्टीलाई आरोप प्रत्यारोप गरेरभन्दा पनि विकास तथा समृद्धिका योजनाहरू बोक्ने योग्य तथा सक्षम उम्मेद्वारलाई जनताले छनौट गर्नुपर्ने बताए । स्थानीय तहको निर्वाचन इतिहासमा पहिलो पटक हुन लागेको प्रसंग निकाल्दै उनले भने, ‘अहिलेको निर्वाचन जनताको भाग्य तथा समृद्धिसँग जोडिएको हुनाले सबैले आफ्ना समस्या उजागर गराउने र समृद्धिको योजनाहरूलाई स्थापित गराउन सक्ने उम्मेद्वारलाई छनौट गर्नुपर्छ ।’
यस्तै, उपमेयरकी उम्मेद्वार सीता कार्कीले उर्लाबारीलाई समृद्ध तथा नमूना बनाउन अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता जनाए । नेपाली कांग्रेस विकास तथा समृद्धिको एजेण्डा लिएर हिड्ने पार्टी भएको उल्लेख गर्दै उनले स्थानीय तहमा आउने बजेटलाई पूर्ण रूपमा विकासमा लगाउने बताए ।
नेपाली कांग्रेसको नेतृत्व विना विकास नहुने भन्दै उनले नेपाली कांग्रेसको नेतृत्वबाट नै मुलुकमा परिवर्तन भएको स्मरण गराए ।
‘हामी एमालेजस्तो नाम भजाउने होइनौं, विकास र परिवर्तनका लागि धेरै काम गरेका छौं, अझैं पनि नेतृत्वमा रहेर गर्नेछौं’, उनले भनीन् । कार्कीले महिला सशक्तिकरणमा जोड दिँदै महिलाहरूले पनि नेतृत्व लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरीन् ।