विराटनगर, २१ बैशाख / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा ब्लक कार्यक्रम सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङले कटहरी र सिसवनी जहदालाइ तरकारी खेती ब्लक क्षेत्रका रुपमा छनोट गरी कार्यक्रम सुरु गरेको हो ।
तरकारीको उत्पादन र उत्पादकत्व बढाउँदै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले सो कार्यक्रम लागु गरिएको हो । ब्लक कार्यक्रम अन्तरगत कम्तीमा पनि एक सय हेक्टरमा तरकारी खेती गर्नु पर्ने छ । जसका लागि कार्यालयले बिउ, बेर्ना, मल, सिचाइ, बजार व्यवस्थापन लगायत आफुहरुलाइ चाहिने प्राविधिक सहयोगको लागि ब्लक संचालक समितिले प्रस्तावन पेस गरे पश्चात कार्यालयले अनुदान प्रदान गर्ने छ ।
समितिले विस्तारै ५ सय हेक्टर भन्दा बढि क्षेत्रफलमा तरकारी खेती विस्तार गरेमा जोनका रुपमा समेत विस्तार गर्न सकिने जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोजकुमार यादवले बताए ।
ब्लक कार्यक्रम सुरु भएसंगै यहाका कृषकहरुमा उत्साह छाएको छ । तरकारी खेती गर्दै आएका कृषकहरु ब्लक कार्यक्रम सुरु भएसंगै थप उत्साहित बनेका हुन् ।
ब्लक कार्यक्रम संचालनका लागि कृषकहरुकै सहभागितामा संचालक समिति बन्ने भएकाले आफुहरुको आफ्ना समस्या र आवश्यकता गाउँमै पुरा हुने स्थानिय कृषक मनोजकुमार सिंहले बताए ।
कृषि उपजहरु बिक्री वितरणका लागि बजारको निकै समस्या भइरहेको र सस्तो मुल्यमा बिक्री गर्नुपर्दा यहाका कृषकहरु निकै मर्कामा परिरहेका थिए ।
ब्लक कार्यक्रमले आफुहरुलाइ बजारीकरणका लागि सहजिकरण गर्ने साथै कृषि उपज बिक्री वितरणमा समस्या आए त्यसको प्रशोधनमा समेत सहयोग गर्ने भएपछि आफुहरु तरकारी उत्पादनमा जोडतोडका साथ लाग्ने ब्लक संचालक समितिका संयोजक कोपिन्द्र सिंहले बताए ।
तरकारी उत्पादनका लागि कटहरी निकै उर्बर क्षेत्र मानिन्छ । हाल यहा दुइ हजार बिगाहा भन्दा बढि क्षेत्रफलमा तरकारी खेति हुदै आएको छ । विराटनगरको ७० प्रतिशत भन्दा बढि तरकारीको खपत कटहरीले नै धान्दै आएको छ ।