मोरङ व्यापार संघको निर्वाचन, अध्यक्षमा राउत र मुन्दडाको दाउ
पूर्वाञ्चल खबर
१८ बैशाख २०७४, सोमबार १९:४५
9
Shares
विराटनगर,१८ वैशाख/ नेपालको पूरानो व्यापारिक संस्था मोरङ व्यापार संघको नयाँ नेतृत्वकालागि आगामि वैशाख २४ गते मतदान हुदैछ ।
राजनीति तथा आर्थिक क्षेत्रमा प्रभाव जमाएको औद्योगिक नगरी विराटनगरको जेठो संस्थाको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको छ ।
२४ गते हुने निर्वाचनमा उद्योग क्षेत्रबाट ६ सय ४४, वाणिज्य क्षेत्रबाट १ हजार ८९, अन्य शाखाबाट ८ र अन्यबाट १० गरी १ हजार ७ सय ५१ जनाको मतदाता नामावली प्रकाशित भइरहेको छ ।
व्यापार संघको निर्वाचनमार्फत औद्योगिक नगरी विराटनगरको उद्योग, वाणिज्य र अन्य शाखाको नयाँ नेतृत्व चयन हुनेछ ।
अघिल्ला कार्यसमितिहरूको नेतृत्व चयनमा भन्दा यसपटक संघको नेतृत्व चयन त्यति सहज देखिएको छैन ।
व्यवसायीहरूको साझा संस्था मात्र नभएर देशकै पहिलो उद्योग वाणिज्य संघको आफ्नै गौरवपूर्ण इतिहास छ ।
यसमा आउने नेतृत्वको समाजमा हैसियत समेत ठूलै हुने भएपनि यसवर्ष संघको निर्वाचनलाई विभिन्न कारणले तताएको छ ।
वर्तमान अध्यक्ष पवन सारडासहित कार्यसमिति चयन भएसँगै सुरु भएको शित युद्ध यतीबेला चर्चाको विषय बनेको छ । व्यापार संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र महासचिव प्रकाश मुन्दडा विचको शित युद्धले व्यापार संघको नयाँ नेतृत्व चयन प्रकृयालाई निर्वाचनको माध्ययमबाट पुरा गर्नु पर्ने अवस्था आएको छ ।
मोरङ व्यापार संघको निर्वाचन भईहाल्ने अवस्था आएमा अहिलेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र महासचिव प्रकाश मुन्दडाबीच घम्साघम्सी हुने देखिएको छ । तर पूर्व अध्यक्षसहितले सर्वसहमतिमा नेतृत्व हस्तान्तरणका लागि पहल र प्रयास गरिरहेका छन् ।
‘पूर्व सहमति अनुसार नेतृत्व सर्वसम्मत गराउने प्रयास भइरहेको छ,’ मोरङ व्यापार संघका एक पूर्व अध्यक्षले भने,‘सहमतिको प्रयास हुँदा हुँदै पनि फिल्ड भने मतदानमै जाने जस्तो देखिएको छ ।’
अध्यक्षका प्रवल दावेदार राउतले आफूहरूलाई बाईपास गरेर अगाडी बढ्ने अवस्थामा चुप नबस्ने संकेत मुन्दडा समूहको छ ।
यसको मुख्य तयारीकर्ता मुन्दडा र अर्का कार्यसमितिका सदस्य नविन रिजाल छन । यता राउतलाई अध्यक्षमा ल्याउने तयारीमा सल्लाहाकार अविनाश बोहरा, रविन दाहालसहित कार्यसमितिको बहुमत टीम छ ।
‘पूर्व सहमति अनुसार नै नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘अहिले सोही सहमति कार्यान्वयनका लागि सबैपक्ष छलफलमा जुटेका छौं ।’
राउतलाई बोहरा क्याम्पको व्यक्ति भएको बताउँदै उनलाई त्यहाँबाट छुट्याएर बोहरालाई एक्ल्याउन मुन्दडा र रिजाल समुह केन्द्रीत भएको बताइन्छ ।
यता वर्तमान अध्यक्ष पवन सारडा भने दुई समूह भिडाएर पुनः अध्यक्षमा दोहो¥याउने लाइन मार्दै आएको चर्चा छ ।