विराटनगर, ७ बैशाख / नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र विराटनगर शाखाको टंकीसिनुवारी सब स्टेशनमा दुहबी ग्रिडबाट दुई दिनदेखि विद्युत आपुर्ति अबरुद्ध भएपछि सेवाग्राही सास्ती व्यहोर्न बाध्य छन् ।
टंकिसिनुवारी सब स्टेशनमा आउने ३३ केबि लाइनको दुहबी ग्रिडमा ब्रेकर ब्रष्ट भएकोले विद्युत आपुर्ति अबरुद्ध भएको वितरण केन्द्र विराटनगरका प्रमुख शम्भु कुसियैत यादवले बताए । विद्युत आपुर्ति थप भएपछि टंकिसिनुवारी सब स्टेशनको टंकिसिनुवारी, नहर र कञ्चनबारी फिडरका सेवाग्राही ३० घण्टा सास्ती व्यहोर्न बाध्य भएका हुन् । बुधवार अपरान्हबाट अन्य फिडरमा थप २÷२ घण्टामा लोडसेडिङ गरेर विद्युत आपुर्ति थालेको केन्द्र प्रमुख कुसियैतले जानकारी दिए । उनले दुहबी ग्रिडमा मर्मत कार्य भइरहेकोले आज रातीबाट विद्युत आपुर्ति सहज हुने दावी समेत गरे ।
उक्त वितरण केन्द्र अन्तर्गत रहेको ४ वटा पावर ट्रान्सफर्मरमध्ये रानीस्थित सब स्टेशनमा रहेको १६ एमभिएको एउटा ट्रान्सफर्मर यसअघि नै जलेकोले थप समस्या भएको हो । प्रमुख यादवले १६ एमभिएको ४ वटा ट्रान्सफर्मरको क्षमता ६४ एमभिए रहेको र आप्mनो वितरण केन्द्र अन्तर्गत करिव ५० एमभिएको मात्रै लोड रहेकोले खासै समस्या नभएको तर ३ वटा ट्रान्सफर्मर मार्फत विद्युत आपुर्ति ब्यबस्थापनमा समय लागेको जानकारी दिए । उनले ट्रान्सफर्मर मर्मतका लागि हेटौडा पठाइसकिएकोले चाडै मर्मत हुने जानकारी दिए ।
विराटनगर वितरण केन्द्र अन्तर्गत ६० हजार विद्युत ग्राहक रहेको कार्यालयको तथ्यांकले जनाएको छ । विद्युत आपुर्ति र पावर ट्रान्सफर्मर जलेको कारण १६ हजार ८ सय ७५ ग्राहकलाई विद्युत आपुर्ति अपुग भएको हो ।