खबर पूर्वाञ्चल
नेपाली कांग्रेस मोरङको हरेक तहमा युवाको उपस्थिति सशक्त रहेको क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ बताउँछन् । २०३५ साल वैशाख २० गते मोरङको सुन्दरहरैंचा नगरपालिका–५ पुरानो तीनपैनीमा जन्मिएका राजनीतिलाई आफूले सेवाको रुपमा अंगिकार गरेको सुनाउँछन् । बुवा स्व. मानबहादुर तामाङ र माता कौशिला तामाङको कोखबाट कान्छा छोराका रुपमा जन्मिएका उनी विद्युत सहकारी संस्था सुन्दरहरैँचाका सचिव, काष्ट व्यवसाय संघ मोरङको उपाध्यक्ष लगायत दर्जनौं संघसंस्थाहरूमा आवद्ध रहेर काम गरिसकेका छन् ।
क्रसर तथा खानी व्यवसाय संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका तामाङ विद्यालय जीवनदेखि राजनीतिक यात्रा आरम्भ गरेका उनले २०५३ सालमा एसएलसी उत्तीर्ण गरेर मदन भण्डारी ममोरियल कलेजबाट सिभिल इन्जिरिङ र काठमाडौंको इन्जिरिङ कलेज बालाजुबाट डिप्लोमासम्म अध्ययन गरेका छन् । श्री साजिलाल उच्च माध्यमिक विद्यालयमा अध्यनरत हुँदा २०५२ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजीनिक यात्रा आरम्भ गरेको बताउँछन् ।
दुई–दुईपटक क्षेत्रीय सभापति भएकाले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा आफ्नो दाबेदारी स्वभाविक भएको उनको भनाइ छ । सुन्दरहरैंचालाई देशकै नमुना पालिका बनाउने योजना आफूसित भएको बताउने सभापति तामाङसितको कुराकानीको सार ः
तपाईंको राजनैतिक सक्रियता निकै बढेको देखिन्छ, यसले मेयरको तयारीको रुपमा बुझ्दा हुन्छ ?
पार्टीमा मेरो सक्रियता, पार्टीमार्फत मैले समाजलाई पु¥याएको योगदानका कारणसुन्दरहरैंचाको मेयरमा मेरो चर्चा हुनु स्वभाविक रुपमा लिएको छु । जहाँसम्म सक्रियताको कुरा गर्नुभयो यहाँले । म नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को सभापति हुँ । त्यो हिसाबले मेरो सक्रियता स्वभाविकै हो । पार्टीका हरेक गतिविधिमा म सक्रिय हुनै पर्छ । यदि पदमा नभएको भए पनि म पार्टीको काममा सक्रिय नै हुने थिएँ । अहिले त सभापतिको जिम्मेवारीमा छु । स्वभाविक रुपमा मैले पार्टीका गतिविधिमा सहभागी जनाउनै पर्छ । दुई–दुईपटक क्षेत्रीय सभापति भइसकेकाले मेयरमा मेरो चाहना हुनु अन्यथा होइन ।
तोकिएको मिति वैशाख ३० गते चुनाव हुने नहुने अझै टुंगो छैन तर तपाईंले त दाबी प्रस्तुत गरिसक्नु भयो, अलि हतार भएन र ?
अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । कम्युनिष्ट नेतृत्वको सरकारले गर्न नसकेको काम कांग्रेस नेतृत्वको सरकारले गरेको छ । विगतकै उदाहरण हेर्नुहोस् न, कम्युनिष्ट नेतृत्वको सरकारले संविधान जारी गर्न सकेन । तर, कांग्रेसले सबैलाई मिलाएर संविधान जारी गर्न सफल भयो । त्यसपछि संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको तीनै तहको निर्वाचन कांग्रेसले नै सफलतावूर्वक सम्पन्न ग¥यो ।
झण्डै दुई तिहाईको बहुमत जनताले कम्युनिष्ट पार्टीलाई दिएका थिए । तर जनताको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न भए । बाध्यतावश फेरि कांग्रेसकै मुलुकको नेतृत्व गर्नुपरो । कांग्रेस सत्तामा जाने हतारो गरेको थिएन । हाम्रो आदरणीय सभापति शेरबहादुर देउवाले ५ वर्ष कांग्रेसले प्रतिपक्षमा बस्न जनताले अभिमत दिएका छन् हामी प्रतिपक्षमै बस्छौं भनेर पटकपटक भन्नु भएको थियो । तर, कम्युनिष्टले चलाउन नसकेपछि देशलाई अनिर्णयको बन्दी बनाउनु भएन । त्यही भएर कांग्रेसले सत्ताको नेतृत्व गर्न पुग्यो । अनि यसअघिका सरकारले नसकेको एमसीसी कांग्रेसकै नेतृत्वमा पास भयो । अब घोषित चुनाव तोकिएको मितिमा नहोला कि भन्ने आशंका राख्नु बेकार छ ।
कांग्रेसले जे बोल्छ त्यो गर्छ । तोकिएकै मिति वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ । त्यसका लागि कांग्रेसले देशव्यापी जागरण अभियान सुरु गरिसकेको छ । अब कुरा रह्यो मेयरमा उम्मेदवार दाबी हतार भयो कि भन्ने । मैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छैन । देवराज तामाङ सुन्दरहरैंचाका लागि आवश्यक छ भनेर त्यहाँका जनताले चर्चा गरिरहनु भएको छ । मेरो चर्चालाई लिएर हतार भयो कि भन्न मिल्दैन । मैले आफूले हतार गरेको छैन । जनता र पार्टीका आमकार्यकर्ताले मेरो चर्चा गरिदिनु भएकोमा म एकदमै खुसी छु ।
पार्टीमा त तपाईंभन्दा सिनियर थुप्रै हुनुहुन्छ, मेयरको टिकटको दाबी गर्ने आधार के छन् तपाईंसित ?
मैले अघि पनि भनें दुई–दुईपटक म क्षेत्रीय सभापति भइसकेको छु । पार्टीमा इमान्दारिताका साथ काम गरिरहेको छु । राजनीतिमार्फत जनताको सेवामा रात दिन, झरी–बादल नभनी खटिरहेको छु । २०५२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेर पार्टीको जिम्मेवारी लिएर काम गरिरहेकाले मलाई पार्टीले टिकट दिनेमा विश्वस्त छु । जहाँसम्म मलाई यसपटक पार्टीले अन्याय गर्दैन भन्ने लाग्छ । सधैं एउटै व्यक्तिले अवसर पाउनुपर्छ भन्ने छैन । सबैले अवसर पाउनुपर्छ ।
मोरङ क्षेत्र ८ को सभापति रहँदा केराबारी गाउँपालिका र सुन्दरहरैँचा नगरापलिकाको प्रमुख पद र केराबारीमा ५ वटा वडा र सुन्दरहरैंचामा ५ वटा वडामा नेपाली कांग्रेस पार्टी जिताउन सफल भएको पार्टीलाई अवगत नै छ । यिनै आधारलाई मूल्यांकन गरेर पार्टीले यसपटक मलाई टिकट दिनेमा म ढुक्क छु ।
लु तपाईंले टिकट पाउनुभयो रे, अनि जित्नु पनि भयो रे, त्यसपछि सुन्दरहरैंचाको विकासका लागि के गर्नुहुन्छ ?
सुन्दरहरैंचालाई मुलुककै नमुना पालिका बनाउने मसित थुप्रै योजना छन् । अहिले धेरै किन भनिरहनु । म काम गरेर देखाउँछु । म थोरै बोल्छु धेरै काम गर्छु । भौतिक विकाससँगै मानवको पनि विकास हुनुपर्छ । त्यहाँको भाषा, संस्कृति, कला, साहित्य, खेलकुदको पनि विकास हुुनुपर्छ । चिल्ला सडक र ठूला भवनलाई मात्रै विकासको आधार मान्न सकिँदैन । सबै क्षेत्रको विकास हुनुपर्छ ।
पहिलो प्रथामिकताका साथ बुढी खोला , गछिया र लोहन्द्रा खोलाले बर्सेनि ठूलो जनधनको क्षति गर्ने भएकाले खोला व्यवस्थापन गर्ने लाग्नेछु । विकास निर्माणका कार्यहरू सडक, बिजुली, शिक्षा, स्वास्थ्य विविध कार्यहरू नयाँ ढंगले सञ्चालन गर्ने योजना रहेको छ । पालिकाभित्र थेरै नै जमिनहरू बाँझो छ । बाँझो जमिन राख्न नपाउने नीति ल्याउनेछु ।
पालिकाकै अग्रसरतामा यस्ता बाँझो जमिनमा सामूहिक खेतीलाई प्रोत्साहित गर्नेछु । जसले गर्दा उत्पादन वृद्धि भई आयात प्रतिस्थापन हुनेछ । कृषिलाई उच्च प्राथमिकतामा राख्नेछु । जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न मद्दत पुग्नेछ । सबै कुरा यहाँ बताएर साध्य छैन । सुन्दरहरैंचालाई बनाउने स्पष्ट भिजन छ ।
तपाईको प्रतिक्रिया