विराटनगर, २ बेशाख / नेपाल ट्रेड युनियन कांग्रेस मोरङको आयोजनामा आज विराटनगरमा श्रमजीविहरुको जीवनयापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
जापान इन्टरनेशनल फाउण्डेसनको सहयोगमा भएको गोष्ठीमा मोरङका ५० जना मजदुरहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागीहरुलाई विभिन्न सीप मूलक तालिमसमेत प्रदान गरिने ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नेपाली कांग्रेस जहिले पनि श्रमजिविको पक्षमा रहेको चर्चा गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनमा श्रमजिविहरुको योगदानको उच्च मूल्यांकन गर्दै कांग्रेसले टिकट दिने बताए ।
नेपाल टे«ड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले स्थानीय तहको निर्वाचनपछि बन्ने नीति नियम मजदुरको पक्षमा हुनु पर्ने उल्लेख गरे । नेपाल ट्रेड युनियन कांग्रेस पुर्वाञ्चल संयोजक नारायणबाबु कार्की, केन्द्रीय सह–कोषाध्यक्ष जर्नादन निरौला, जापान इन्टरनेशनल फाउण्डेसनकी प्रतिनिधि युकीले मन्तव्य व्यक्त गरेका छन् ।