बिनु तिम्सिना
विराटनगर, २४ चैत / पछिल्लो समय मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् ।
अन्य बाली या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानी समेत बढि हुने भएकाले जिल्लाका कृषकहरु टमाटर खेती तर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय मोरङमार्फत सरकारले टमाटरलगायतका खेतीका लागि कृषि तथा यान्त्रिक खरिदमा अनुदान उपलब्ध गराएपछि किसानहरु थप उत्साहित भएको देखिन्छ ।
कोशी–हरैचा–६ बस्ने किसान कृष्णकुमार श्रेष्ठले ९ कठ्ठा जग्गामा गौरब जातको टमाटर लगाएका थिए । असोज महिना देखि नै टमाटर बिक्रि गर्न सुरु गरेका उनले पाँच लाखको टमाटर बिक्री गरिसकेको बताए ।
राम्रो संग टनेल लगाएर टमाटर खेति गर्ने हो भने अरु खेति भन्दा टमाटरबाट राम्रो आम्दानि गर्न सकिने उनले बताए ।
मोरङमा खास गरेर कोशीहरैचा, कटहरी लगायतका क्षेत्रमा व्यवसायिक ढङ्गले उन्नत जातका टमाटरको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत काशीकुमार चौंधरीले बताए ।
मोरङमा ९० प्रतिशत हाब्रीड जातको टमाटर खेती हुने गरेको छ । त्यसमा पनि तराइको क्षेत्रमा गौरब, पृथ्वी, अभिनास २, मनिसा जातको र पहाडी क्षेत्रमा सिर्जना, त्रिशुल, एन एकसय ६२, अलराउण्डर लगायतको जातका टमाटरको खेति बढि मात्रामा गरिने कार्यालयले जनाएको छ ।
हाइब्रीड जातको टमाटर एक कठ्ठामा पाँच देखि सात सय वटा बोट लागउन सकिन्छ । एक बोट बराबर कम्तीमा पनि २० किलो टमाटर उत्पादन हुने र एक कठठमा कम्तीमा पनि पाँच हजार किलो टमाटर उत्पादन गर्न सकिने चौधरीले बताए ।
उनले भने, “ टमाटर खेतीमा फाइदा नै फाइदा छ तर कृषकहरुले माटो र मलखाद्य, रोग किराको र भेराइटीको व्यवस्थापन राम्रो संग गर्न सके टमाटर खेतिबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”
अहिले मोरङको तराइका क्षेत्रमा टमाटर सकिन लागेको र उच्च तथा मध्य पहाडी क्षेत्र केराबारी, याङ्सीलामा टमाटरको खेति सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले सो क्षेत्रका किसानहरुलाई टनेल वितरण गरिसकेको र उनीहरुले बेर्ना उत्पादन सुरु गरिसकेको कार्यालयले जनाएको छ ।
पहाडी क्षेत्रको टमाटर असोजदेखि कार्तिक सम्म तराइमा आउने गरेको छ । यस वर्ष मोरङमा एक हजार हेक्टर क्षेत्रफलमा टमाटर खेती गरिएको छ । मोरङमा सबैभन्दा बढी उत्पादन दिने थाइलेण्डका वीउको अत्यधिक माग रहेको छ ।