CLASSICTECH NET

निर्वाचनसँगै विकासको अपेक्षा

खबर पूर्वाञ्चल, १४ चैत्र २०७३, सोमबार २१:४१
उर्लाबारी, १४ चैत / उल्लिखित समस्या केही साझा मात्र हुन्, जुन सुगम जिल्लाका रूपमा परिचित मोरङमा रहेर बर्षाैदेखि झेल्दै आउनुपरेको छ । अझ शिक्षा, स्वास्थ्यलगायतका समस्या पनि कम छैनन् ।
स्थानीय तह निर्वाचनको रौनक बढ्दै गइरहेको छ । स्थानीय तह पुनर्संरचनाले मोरङमा १७ वटा स्थानीय तह निर्धारण गरेसँगै १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको मोरङमा मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्षको चर्चा चलिरहेको छ । यो चर्चासँगै स्थानीयस्तरमा चुलिएका समस्या पनि कस्ले समाधान गर्न सक्छ भन्ने बहस पनि चल्न थालेको छ । अबको स्थानीय तहमा संविधानले पनि असीमित अधिकार छुट्याएकाले चर्चा चल्नु स्वभाविक हो ।
करिब दुई दशक पछि हुन लागेको निर्वाचन र नयाँ संरचनाको आधारमा स्थानीय सरकारको स्वरूपमा आएकोले मोरङका बासिन्दा दल होइन, व्यक्ति हेरेर मतदान गर्ने मनस्थितिमा रहेका छन् । आफ्नो जिन्दगीमा पाँचपटक मतदान गरिसकेका उर्लाबारी–६ का हेमलाल आचार्यले स्थानीय चुनावमा दलभन्दा व्यक्ति हेरेर भोट हाल्ने बताए ।
मिक्लाजुङ–४ का देउमान तामाङले पार्टीसँग मतलब नभएको बताउँदै मान्छेको विचार र व्यवहार हेरेर भोट हाल्ने बताए । चुनावको बेला नेताको आगमनले रौनक छाएपनि त्यसपछिका दिनमा दुःख सुख बुझ्न कोही पनि नआउने गरेको उनले दुखेसो पोखे । ‘दुःख सबै हाम्रै लागि हो हाम्रा भोटले जित्ने नेतालाई के थाहा, जनताको दैनिकी कसरी बितिरहेको छ भनेर’, उनले भने ।
यस्तै, मिक्लाजुङ–४ का यूवाहरूले सामाजिक गतिविधि गर्ने उद्देश्यले गठन गरेर हामी यूवा क्लबमा आवद्ध अधिकांश युवाहरू पनि जनभावनालाई समेट्ने योग्य र सक्षम उम्मेद्वालाई मदतान गर्ने बताउँछन् । क्लबका संयोजक सन्तोष खम्बु, उपाध्यक्ष खुशी लिम्बू, सचिव मिलन देवान, कोषाध्यक्ष भानु चाम्लिङलगायतले शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिचाइँलाई महत्व दिने व्यक्तिलाई नेता बनाउन चाहेको बताए । उनीहरू भन्छन्, ‘जितेका नेताले यतिमात्रै काम गरिदियो भने जनताले सास्ती पाउनु पर्दैन थियो ।’
यस्तै, उर्लाबारीका त्रैलोक्यनाथ भट्टराईले राम्रो मान्छे नचुन्नाले विभिन्न अवसरबाट आफूहरूलाई पछाडि पारिएको भन्दै यसपटकको निर्वाचनमा राम्रो, योग्य र सक्षमलाई स्थानीय तहको अगुवा बनाउन आतुर रहेको बताए ।
उता, उर्लाबारी–४ का टिका भट्टराई स्थानीय तहको निर्वाचनमा योग्य व्यक्ति बिना जनताले सोचे अनुसारका विकास निर्माणका पाउन नसक्ने बताए । उनले दशकौंदेखि सिंहदरबारमा सीमित विकास निर्माणको अधिकार अब वडा–वडामा आउने भएकाले दलभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई चयन गर्नु पर्ने बताए ।
गाउँ र नगरको विकास निर्माणदेखि नयाँ संरचनाको अनुभूति दिने र गाउँ घरमै सत्ताको अनुभूति दिने भएकोले स्थानीय निर्वाचन जनताको भाग्य निर्धारण गर्ने भएकाले स्वविवेक प्रयोग गरेर मतदान गर्नु पर्ने उनको भनाइ छ ।
उता, योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र विकासको लहर आउने भन्दै मतदाता योग्य, सक्षम, इमान्दारी उम्मेद्वारको पखाईमा रहेका छन् । सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि राजनीतिक दलमा पनि सक्षम उम्मेद्वारको खोजी भइरहेको छ ।
त्यसो त मोरङका स्थानीय तहको महत्वपूर्ण पदमा दर्जनबढी आकांक्षी देखिएपछि उम्मेदवार छनौटमा समस्या नै देखिएको छ । प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाबीच प्रतिस्पर्धा हुने देखिएको मोरङमा राजनीतिक दलभित्र कसलाई उम्मेदवार बनाउँदा विजय हुन्छ भन्ने विषय महत्वका साथ उठेको छ । बर्षाैदेखि विकासको पखाईमा रहेका मोरङवासीलाई विकासको अनुभूति गराउन लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ ।
moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५