ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी शिविरको मान्छे हो ? : नेता खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७८, बुधबार १७:१६
414
Shares
विराटनगर / पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमालेलाई संसद फोविया भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

‘धन्दुकारीले पाएको अवसर, देशको आवश्यकता नबुझेर, दक्षिणपन्थी अवसरवादको बाटोमा लागेर फुटवादतिर लगे,’ उनले भने, ‘उनले सत्ता केन्द्रीकरण गरे, त्यसपछि पार्टीले आलोचना गर्दा असहयोगको नाममा संसद निमोठ्ने प्रयास गरे । अहिले प्रतिपक्षीमा हुँदा पनि नारा लगाएर संसद चल्नै नदिने भनेको संसद फोविया हो । यो जबज विरोधी हो ।’

खनालले निर्वाचन अगाडि कम्युनिष्ट एकताले देश अग्रगतितिर जान्छ भन्ने भावना उर्लिएको थियो भन्दै जसको कारण नेकपाले झन्डै दुई तिहाई मत प्राप्त गरेको बताए । ‘कम्युनिष्टको दुई तिहाई मतसहितको संसदलाई अत्यन्तै कुशलतापूर्वक अगाडि बढाउनु पर्ने थियो । जनमुखी बजेट ल्याएर हामीले धेरै प्रगतिशिल काम गर्न सक्थ्यौं,’ खनालले भने, ‘उनले त्यो अवसरको सदुपयोग गर्न सकेनन् ।’

एमालेले १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्नु पिँध बिनाको माग भएको बताए । कसैले सडकबाट निकाल भनेर नहुने उनले बताए । आफूले सभामुखलाई महाअभियोग लगाउने विषय पनि सुनेको भन्दै खनालले त्यसको कुनै अर्थ नभएको बताए ।

‘सभामुखलाई महाअभियोग कसरी लाग्छ ? दुई तिहाइ मत कोसँग छ ? यो पिँध नभएको माग हो, दक्षिणपन्थीहरू यहाँसम्म पनि पतित हुन्छन् भन्ने उदाहरण हो,’ खनालले भने । उनले सहमतिको बुँदामा आधारित भएर गठबन्धन बनेको बताउँदै असहमतिको बुँदाले गठबन्धनलाई असर पार्न नहुने पनि बताए । नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी शिविरको मान्छे हो भन्दै प्रश्न समेत गरेका छन् । ‘कैंयौं महिना अगाडि भारतको राजदुत नियुक्त गर्नुभयो, अमेरिकाको राजदुत नियुक्ति गर्नुभयो, बेलायतको राजदुत नियुक्ति गर्नुभयो, चीनको राजदुत नियुक्ति किन भएन ? यो असन्तुलन किन ?,’ खनालले भने, ‘पटक पटक भन्दा पनि यो कुरा सच्याइएको छैन, यो गल्ती नगरौं ।’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रदेश १ ईन्चार्ज घनेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन, कम्युनिष्ट एकता, संविधान निर्माणमा भरतमोहन अधिकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । सोही कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले जबज र भरतमोहनको कामको जस एमालेले लिन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भरतमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको पर्यायवाची रहेको बताए । प्राध्यापक कृष्ण पोखरेलले भरतमोहनले सुरू गरेको सामाजिक सुरक्षा भत्ताको व्याज अहिलेका कम्युनिष्ट पार्टीहरूले खाईरहेको बताए ।

कार्यक्रममा नेकपा एसका प्रदेश अध्यक्ष बलदेव चौधरी कांग्रेस मोरङका उपसभापति नागेश कोईराला, माओवादीका प्रदेश सदस्य भोगेन्द्र यादव, जसपा मोरङका अध्यक्ष राजकुमार यादवलगायतले भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए ।

सोही अवसरमा भरतमोहनकी माईली छोरी लिना अधिकारीले जेष्ठ नागरिकहरूको स्वास्थ्य, शिक्षा र प्रविधिको सेक्टरमा काम गर्न बाँकी रहेको बताइन् । कार्यक्रमकै बीच जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रम उद्घाटन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर