विराटनगर, ११ चैत / भारतीय सुरक्षाकर्मीबाट गोली हानि हत्या गरिएका नेपाली नागरीकको राष्ट्रिय मानवअधिकार आयोगले ६ वर्षपछि अनुसन्धान सुरु गरेको छ ।
मोरङको अमहीबरयाती ७ का ५५ वर्षिय बासुदेव साहको २०६७ जेठ ११ गते भारतीय सिमा सुरक्षा बलबाट गोली हानि हत्या गरिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षपछि अनुसन्धान सुरु गरेको हो ।
चैत ११ गते आयोगका सदस्य गोविन्द शर्मा पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर स्थलगत रुपमा पुगेर घटनाको अनुसान्धान गरेको हो ।
यस अघि आयोगले पत्रपत्रिकाको समचारको आधरमा उजुरी दर्ता गरी प्रशासनसँग जानकारी माग गरेपनि प्रशासनले जानकारी उपलब्ध गराएको थिएन् ।
घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी पीडित परिवारलाई छतिपूर्ती र दोषिलाई कारवाहीको लागि नेपाल सरकारसँग निर्देशन गर्ने आयोगका सदस्य पौडेलले बताए । ६ वर्ष अघि साँझ नौं बजे अररीया जिल्ला लैलोखर बेस क्याम्पबाट सादा पोशाकमा हतियारसहित आएका एसएसबीका जवानहरुले नेपाली भूमिका आएर साहको गोली हानी हत्या गरेका थिए । तत्काल प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ती दिने र सहिद घोषणा गर्ने प्रतिबद्धता गरेको थियो ।