खबर पूर्वाञ्चल
आज सभापति देउवाले एक पेस वक्तव्य जारी गर्दैे महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताए ।
देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । यसलाई प्रस्ट पार्दै देउवाले विज्ञप्तिमा लेखेका छन् २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।
‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ उनले भनेका छन् ।
असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।
‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन’ देउवाले भने ।
कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न पार्टी पङ्क्तिलाई देउवाको आह्वान छ ।
कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि देउवाले अनुरोध गरे ।