कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको उपचारमा ठगी, भरपर्दो सरकारी अस्पताल नै

खबर पूर्वाञ्चल, २२ असार २०७८, मंगलवार ०७:५४

विराटनगर / कोरोना संक्रमित बिरामीहरुको उपचारमा निजीभन्दा सरकारी कोभिड अस्पताल नै भरपर्दाे साबित भएका छन् । यो समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् ।

मोरङमा कोरोना संक्रमित बिरामीहरुको उपचार हुने ४ ठुला कोभिड अस्पतालमध्ये अधिकांश संक्रमित बिरामीहरुको रोजाई सरकारी अस्पताल नै देखिएको छ । निःशूल्क उपचार, गुणस्तरीय सेवा, चौबिसै घण्टा चिकित्सकीय निगरानी, सघन उपचार कक्ष, दक्ष जनशक्ति र आई।सि।यु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था लगायतका उपाय लगाएपछि निजीको तुलनामा सरकारी अस्पताल भरपर्दाे साबित हुँदै गएका हुन् । मोरङमा विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र, कोशी अस्पताल, नोबेल मेडिकल कलेज र बुढीगङ्गास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीहरुको उपचार हुने गरेको छ ।

तर पछिल्लो समय कोरोना संक्रमितको उपचारमा निजीभन्दा सरकारी अस्पताल नै छनौटमा पर्न थालेका छन् । निजी कोेभिड अस्पतालमा उपचार गराएर फर्किएकाहरुले पनि सरकारी अस्पताल नै भरपर्दो हुने गरेको बताउँदै आएका छन् । सरकारी अस्पतालमा नर्सहरुले गर्ने व्यवहारदेखि प्रवाह हुने चिकित्सकीय सेवासम्म सबै उत्कृष्ट हुने गरेको उनीहरुको भनाई छ । कोभिड पोजिटिभ भई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा १० दिन उपचार गराएर घर फर्किएका विराटनगर–८ मधुमाराका ध्रुव सापकोटा भन्छन्, ‘मलाई निमोनिया र झाडापखालाले बढी सिकिस्त बनाएको थियो । तर कोशी कोभिडमा पुगेपछि मैले राम्रो ट्रिटमेन्ट पाए । १० दिनमै कोरोना नेगेटिभ भएर घर फर्किए ।’

कोभिड–१९ उपचार केन्द्रले पछिल्लो समय बिरामीहरुका लागि निःशूल्क परामर्श सेवाको सुरुवात गरेसँगै अधिकांश बिरामीहरु मानसिक रुपमा विछिप्त हुनुबाट पनि जोगिएको विराटनगर–१५ का वसन्त राई बताउँछन् । ‘अस्पतालको परामर्श सेवाका कारण मृत्युको मुखमा बिरामीहरु पनि चाँडै निको हुने गरेको देखेको छु,’ उनले भने, ‘परामर्शकै कारणले होला अस्पतालको रिकभरी रेट पनि उच्च छ । संक्रमित हुँदा मैले पनि गुणस्तरीय सेवा पाए । गुनासो गर्ने ठाउँ छैन् ।’

निजी कोभिड अस्पतालमा सरकारसँगको सम्झौता विपरित चर्काे शूल्क असुल्ने, अनावश्यक औषधी महङ्गोमा खरिद गर्न लगाउने, बिरामीलाई नर्र्सको भरमा छोडिदिने र डाक्टर आउँदै नआउने लगायतका बेथिति बढेपछि आम नागरिकले निजीभन्दा सरकारी अस्पताललाई भरपर्दो ठान्न थालेका हुन् । निजीमा गरिब तथा विपन्न वर्गका बिरामीले आईसियु बेड नपाउने, उपचार अगावै १ देखि २ लाखसम्म धरौटी राख्नुपर्ने र बिरामीको उचित रेखदेख नहुने लगायतका कारण पछिल्लो समय आम नागरिकले सरकारी अस्पताललार्ई सुरक्षित महशुस गर्न थालेका छन् ।

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा जेठ ३१ गते भर्ना भई असार १७ गते डिस्चार्ज भएका विराटनगर–१० का कमलबहादुर कोईराला भन्छन्, ‘निजी कोभिड अस्पतालको भर छैन, उनीहरु जनताको दुःख बुझ्दैनन् ।’

कोईरालाले पनि कोरोना संक्रमित भएपछि कुल १७ दिन विराट मेडिकल कलेजमा उपचार गराएका थिए । ७ दिन जेनरल वार्ड र १० दिन आईसियूमा बसेर असार १७ गते डिस्चार्ज भएपछि अस्पतालले उनलाई उपचार खर्च भनेर ६ लाख ७१ हजारको बिल थमाईदियो । छुटसहित उनी ४ लाख ६१ रुँपैया तिरेर उनी घर फर्किए । दुई दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेवसाईट हेरेपछि उनले थाहा पाए, ‘अस्पतालले त निःशल्क उपचार गर्नुपर्ने रहेछ ।’ हाल उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उपचार खर्च बापत लिएको बढी रकम फिर्ता गर्ने सम्बन्धमा निवेदन दिएका छन् ।

‘संक्रमित भएर भर्ना हुँदा अस्पतालले उपचारका क्रममा आवश्यक पर्ने रेमडिसिभिर दिएन । आफन्तले नोबेल अस्पतालको फार्मेसीबाट ५ हजार १ सयमा उक्त औषधी किनेर ल्याए,’ उनले भने, ‘अस्पतालले ५ हजारको रिमडिसिभिर २५ हजारमा बेच्न खोज्यो ।’

कोरोना संक्रमितहरुको उपचारका निम्त्ति प्रदेशमा निजीस्तरबाट सञ्चालित अधिकांश कोभिड अस्पतालहरुको अवस्था यस्तै छ । जसकारण पछिल्लो समय निजी अस्पतालहरुले आम नागरिकको विश्वास गुमाउन थालेका छन् ।

सरकारी तथ्यांक अनुसार मोरङमा हालसम्म २९ हजार ७ सय १८ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । कुल संक्रमितमध्ये २७ हजार ५ सय १६ जना संक्रमणमुक्त भईसकेका छन् । जसमा निजीको तुलनामा सरकारी अस्पतालकै रिकभरी रेट उच्च रहेको सरकारी तथ्यांकले पुष्टि गर्छ । मोरङमा हालसम्म भने कोेरोना संक्रमणका कारण ३ सय ६५ जनाले छन् भने पछिल्लो २४ घण्टामा २ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५