धरान, ५ चैत / धरान–१५ गणतन्त्र वस्तीका एक युवामाथि एक समूहले छुरा प्रहार गरी हत्या गरेको छ ।
आज बिहान धरान–१५ कै ५ जना युवाहरुको समूहले सोही स्थानका २६ वर्षीय भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेको हो । शुक्रराज राईको समूहले हत्या गरेको प्रहरीले बताएको छ ।
भक्तलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका सई तिलक गिरीले बताए । उनका अनुसार शुक्रराजको दाया हातको बूढीऔंलामा काटेको छ । उनलाई उपचारमा आउने क्रममा पक्राउ गरिएको छ ।
त्यस्तै हत्यामा संलग्न हुक्के तामाङ, राजन विक, राजु राई र बिक्रम परियार फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको सुनसरी प्रहरीले बताएको छ । युवाहरुले भक्तको घरमै पुगेर छुरी हानेका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।