माध्यमिक शिक्षा परीक्षा(एसईई) मोरङमा शान्तिपूर्ण ढंगबाट सञ्चालन
खबर पूर्वाञ्चल
३ चैत्र २०७३, बिहीबार १५:५४
3
Shares
विराटनगर, ३ चैत / आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) मोरङमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र प्रहरी प्रमुख सन्दीप भण्डारीले परीक्षा स्थलगत निरीक्षण गरेका थिए । परीक्षा केन्द्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाइएको र परीक्षा केन्द्राध्यक्षहरुलाई समेत निर्देशिका बमोजिम परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको र परीक्षा शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।
देशभरि एकसाथ सुरु भएको परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । मोरङमा यस वर्षको परीक्षामा नियमिततर्फ १७ हजार ९ सय ८३ जना, ग्रेड वृद्धितर्फ १ हजार ९ सय ५७ र एक्जामटेडतर्फ ७ सय ६६ गरी २० हजार ७ सय ६ जना परीक्षार्थीको सहभागिता रहेको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।
प्रत्येक वर्ष केन्द्राध्यक्ष नियुक्तिको विवाद चर्कने मोरङमा यसवर्ष भने विधिवत ढंगबाट केन्द्राध्यक्ष नियुक्ति भएकाले परीक्षा मर्यादित र व्यवस्थित भएको बताइएको छ ।
सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई कक्षा १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको हो । सोहीअनुरुप परीक्षा सञ्चालनमा आएको हो । शिक्षा ऐन कार्यान्वयनमा आएपछि शिक्षा मन्त्रालयले १२ कक्षापछि मात्र एसएलसी परीक्षा लिनेछ ।
यस वर्ष जिल्लामा ६७ वटा परीक्षा केन्द्र तोकिएको छ । यसवर्ष प्रक्रियागत ढंगबाट केन्द्राध्यक्ष नियुक्ति भएकाले परीक्षा मर्यादित भएको केन्द्राध्यक्षहरुको भनाइ छ । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष विद्यालयका प्रअहरुलाई नै परीक्षा केन्द्रहरुका केन्द्राध्यक्ष नियुक्ति गरिएकाले राम्रो सिस्टमको सुरुवात भएको केन्द्राध्यक्ष तथा गोग्राहा माविका प्रधानाध्यापक विष्णुबहादुर भुजेल बताए ।