विराटनगर, २८ फागुन / हात्तीपाइले रोग निवारणका लागि मोरङमा यही चैत ५ गतेदेखि अभियान थालिने भएको छ ।
तीनदिनसम्म जिल्लाभर हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाइने जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहेताले जानकारी दिए । अभियानमा ९ लाख ३२ हजार ५ सय ६ जनालाई हात्तीपाइले रोगको औषधि खुवाईने लक्ष्य रहेको उनले बताए । ५ हजार १ सय २३ जना स्वयंसेविकाहरुले औषधि खुवाउने छन् ।
उपमहानगरपालिकामा गाउँको जस्तो सहभागिता नभएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उनले नगरमा व्यापक प्रचारप्रसार भए पनि औषधि खुवाउन चासो कम भएको जानकारी दिए ।
मोरङमा ९ सय ७८ जना व्यक्तिहरु हातीपाइले हात्तिपाइलेका रोगी छन् । विशेष गरी दिर्घरोगी, दुई वर्षभन्दा कम उमेरका बालबालिका, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गर्भवती महिलालाले औषधि सेवन गर्नु नहुने पनि कार्यालयले जनाएको छ ।
यो रोग लागेमा पूर्ण निको नहुने हँुदा शारीरिक रुपमा अंगभंग हुने भएकाले औषधि सेवन गर्न पनि कार्यालयले अनुरोध गरेको छ । औषधि खाँदा कसैकसैलाई वाकवाक आउने, रिगटा लाग्ने भएकाले नडराउन पनि आग्रह गरिएको छ ।
यो औषधि खाली पेटमा सेवन नगर्न पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नेपाल र विश्वबाट सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ ।