खबर पूर्वाञ्चल
हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ ।
ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
संक्रमितले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष सिल गरिएको बताए । संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
यस अघि विराटनगर अस्पतालका सञ्चालकलाई कोरोनो पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि पोजेटिभ आएको थाहा भएको थियो ।
उनमा कोरोना पोजेटिभ देखिएपछि तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।
महाशाखा प्रमुख कार्कीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका मध्ये एक जना विराटनगर गुद्री बजारमा किराना पसल सञ्चालन गरिरहेका व्यक्ती हुन् ।
५२ वर्षिय संक्रमित पुरुषको किराना पसल गुद्री चोकमा छ । संक्रमित व्यक्तीको किराना पसलमा प्राय भिड हुन्थ्यो । सञ्चालकलाइ कोरोना संक्रमण पुष्टि भएपनि शुकबार दिउँसोसम्म पसल सञ्चालन भइरहेको थियो ।
महानगरको टोलीले संक्रमित व्यक्तीको सम्पर्कमा रहेका कर्मचारी र अन्य आफन्तको कोरोना जाँचका लागि भन्दै पसल बन्द गराएको छ ।