AArya
RUMPUM
animated ellipse animated ellipse

गलफ्रेन्डतन्त्रको राजनीति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०८२, आईतवार ०९:१४
306
Shares
वीरेन्द्रकुमार साह
निजले नखानु, स्त्रीलाई खान दिनु। स्त्रीले नखाए छोरालाई खान दिनु। छोरा नभए मीत छोरालाई खान दिनु। श्री स्वस्थानी व्रतकथाको मा पर्वमा पार्वतीले शिवजीको प्रसाद बाँड्दा भन्नुभएको यो वाक्य केवल धार्मिक उपदेश थिएन, त्यो तत्कालीन समाजको जिम्मेवारीबोध, पारिवारिक मूल्य र संस्कारको प्रतिबिम्ब थियो।

आत्मत्याग र प्राथमिकताको यो पाठले मानिसहरूलाई आफूभन्दा अरूलाई सोच्न सिकाउँथ्यो। तर आजको नेपालको राजनीतिक मञ्चमा यही वचनको विकृत रूप– “निजले नखाए, गलफ्रेन्डलाई खान दिनु” – सत्ता प्रयोगको अघोषित सूत्र बनेको छ।

राजनीतिक दलहरूले जनताका नाममा प्राप्त शासनसत्ता अब आफन्त र नातागोता वितरण गर्ने प्लेटफर्म बनेको छ। जुनसुकै सार्वजनिक संस्था हेरे पनि नेतृत्वको वरिपरि ‘पारिवारिक वृत्त’ कै घेरा देखिन्छ। अध्यक्ष स्वयं नेता, उपाध्यक्षमा उनका सालो, लेखापालमा ज्वाइँ, सल्लाहकारमा श्रीमती, र सदस्यमा छोरा वा छोरीको प्रेमी– यस्तो नमुना कुनै कथा होइन, हालको यथार्थ हो। मन्त्रालयहरूमा जो पार्टी सत्तामा पुग्छ, उसैका परिवारका सदस्यहरू प्रतिष्ठानहरूमा छरपस्ट देखिन्छन्। मन्त्री बन्ने ‘सक्षम व्यक्तित्व’ खोज्नु पर्दैन, श्रीमती वा प्रेमिका हुँदा पुग्छ। सत्ताको सन्देश सरल बनेको छ– जे छ, घरभित्रै बाँड।

लोकतन्त्रको नाममा थालिएको यात्रा आज गलफ्रेन्डतन्त्रमा परिणत हुन पुगेको छ। हिजोको स्वस्थानीको ूमीत छोराू अब नेताको व्यक्तिगत रुचिको युवती बनेकी छिन्। हालै मात्र एकजना प्रभावशाली नेताले कुनै पनि राजनीतिक भूमिका ननिभाएकी युवतीलाई कूटनीतिक भ्रमणमा सहभागी गराएको उदाहरण यथेष्ट छ। उनले त्यो सिट पाउन कुनै लोकसेवा पास गरेकी थिइनन्, कुनै क्षेत्रमा विशिष्ट योगदान दिएकी थिइनन्– तर ‘संबन्ध’ नै पर्याप्त योग्यता बन्यो।

जब जनताले कर तिरेर बनाएको राज्यसंरचना नेताको परिवारिक लञ्च कार्यक्रमजस्तो देखिन थाल्छ, तब प्रश्न उठ्नु स्वाभाविक हो। जब जनता अस्पतालमा अक्सिजन खोज्दै छन्, किसान बिउको अभावमा रुँदै छन्, दक्ष युवा विदेश पलायन भइरहेका छन्, अनि त्यही राज्यको साधन(स्रोत नेताको गलफ्रेन्डलाई पोखरा घुमाउन खर्चिन्छ, तब ती सबै पीडा र आक्रोशले एउटै वाक्य माग गर्छ– के यो सह्य अवस्था होरु

नेपाली राजनीति अब ‘राष्ट्रसेवा’ होइन, ‘रिश्तेदारसेवा’ को मैदान बनिसकेको छ। नियुक्तिमा न योग्यता हेर्छ, न निष्पक्षता। संसद सचिवालयमा सभासदका छोरा, आयोगमा सम्धी, कूटनीतिक नियोगमा मीत छोरा, मन्त्रालयमा श्रीमती र भ्रमण टोलीमा गलफ्रेन्ड। यो नै हाम्रो गणतान्त्रिक अभ्यासको वास्तविक अनुहार हो भने, हामीले प्राप्त गरेको व्यवस्था जनताको हैन, नेताका निजी सम्बन्धहरूको पूर्ति गर्ने यन्त्र मात्रै हो।

श्री स्वस्थानी व्रतकथाको मूल सन्देश थियो– जिम्मेवारी, माया, र धर्मको सन्तुलन। तर आजको नेताहरूले त्यो शिक्षालाई उल्ट्याउँदै सत्ता र सुविधाको बँडफाँडमा आफ्नो निजी घेरा केन्द्रमा राखेका छन्। जब राज्यसंयन्त्र मुठ्ठीभर व्यक्तिका नातेदारमा सिमित हुन्छ, तब त्यसले न सरकारप्रति विश्वास रहन्छ, न लोकतन्त्रप्रति भरोसा। अनि प्रश्न उब्जिन्छ– के अब पनि हामी मौन बस्ने ?

यो लेख केवल व्यंग्य होइन, चेतावनी हो। जनताले अब आफ्ना आँखाबाट पर्दा हटाउनु पर्छ। किनकि जब देशमा निर्णयको आधार योग्यता होइन, ‘गलफ्रेन्ड’ हुन्छ, तब त्यो राष्ट्र समृद्धि होइन, पतनको बाटोमा हिंडिरहेको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर