AArya
RUMPUM
animated ellipse animated ellipse

एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७३, बिहीबार १९:१५
3
Shares
कञ्चनपुर, २६ फागुन / भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको छ । नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका एसएसबीले चलाएको गोली लागेर स्थानीय ३० बर्षिय गोबिन्द गौतमको निधन भएको हो ।
बुधबार राती एसएसबीका जवान घरमै पसेर नेपालीलाई कुटपिट गरेपछि त्यसको विरोधमा उत्रिएका स्थानीयबासीलाई प्रहार गरेको गोली लागी गौतमको मृत्यु भएको हो ।
गोली लागी घाइते भएका उनको धनगढीको सीपी अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर चन्द्रप्रकाश पाण्डेले बताए । गौतमको पेटमा गोली लागेको र अत्यधिक रक्तश्रावपछि मृत्यु भएको हो ।
घटनापछि सीमाक्षेत्रमा तनाव बढेको छ । भारतीय प्रहरीले गोली चलाउँदा नेपालतिर सशस्त्र प्रहरी उपस्थित भए पनि आदेश नपाएको भन्दै प्रतिकार नगरेको स्थानीय हेमन्त न्यौपानेले गुनासो गरे ।
आनन्दबजारस्थित नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि केही दिनअघिदेखि विवाद सुरु भएको थियो ।
बुधवार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरूलाई कुटपिट गरी घाइते बनाएपछि बिहीबार बिहानैदेखि सीमामा नारा जुलुस भएको थियो ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजेदेखि स्थानीय नेपालीहरू सीमा बन्द गराएर विरोधमा उत्रिएका थिए । उनीहरूले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजीसमेत गरेका छन् ।
एसएसवीका जवानहरुले नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिटसमेत गरेका छन । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका थिए । आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाटसमेत गरेका छन् ।
स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडासमेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताएका छन ।
गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्दबजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् । एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर