घनश्याम भण्डारी
उर्लाबारी, १४ फागुन / हसन्दहका रामकुमार परियार इलाका प्रशासन कार्यालय उर्लाबारीको शौचालयबारे सामाजिक सञ्जाल फेसबुकमा तस्विरसहित आक्रोश पोखे ।
उनले लेखे, ‘राज्यले देशैभर पूर्ण सरसफाई अभियान चलाईरहेको बेला राज्यकै एउटा महत्वपूर्ण निकायको हालत चैँ यस्तो छ ।
कसले दिने ध्यान ?’ शौचालयबाट नाक खुम्च्याए फर्किएका उनी जस्तै धेरैलाई शौच गरी कतिबेला बाहिर निस्कु जस्तो हुन्छ ।
कार्यालयमा पुग्दा शौचालयको अवस्था डुंग डुंग गन्हाउने, पानी नआउने, फोहोरले टालिएको र धारा पनि बिग्रेको अवस्थामा थियो । शौचालयको प्वालमा पिसाब र दिसा भरिएर जाम छ ।
कार्यालयमा पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरवन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारंगी गाविसबाट विभिन्न सेवा लिन यहाँ आउने गर्दछन् ।
दैनिक हजारौंको संख्यामा आउने सेवाग्राही शौचालयको दुरावस्थाले समस्यामा पर्दै आएका छन् । इलाका प्रशासन कार्यालयको यस्तो हालत हुनु निकै दुःखदायी कुरा रहेको सेवाग्राहीको भनाइ छ ।
इलाका प्रशासन कार्यालयको मात्र होइन उर्लाबारीका अन्य कार्यालयको शौचालय पनि व्यवस्थित छैनन् । अझ अपाङ्ग र महिला मैत्री त छँदै छैन ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा शौचालय भए पनि पानी हुँदैन । महिला र पुरूषका लागि एउटै शौचालय छ । भित्रबाट चुकुलसमेत नभएको शौचालयमा महिलाले भित्र छिर्न मुस्किल छ । एकै स्थानमा भएका कारण त्यही कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत शौचालयमा पस्न हिच्किचाउँछन् ।
उता सेक्टर वन कार्यालय, कृषि कार्यालय, पशु सेवा, सरकारी विद्यालयलगायतका शौचालयको हालत निकै खराब छ । जीर्ण शौचालयमा पानीसमेत हुँदैन । एक व्यक्ति शौचालय जाँदा कम्तीमा ८ लिटर पानी चाहिन्छ । तर, यहाँका कार्यालयमा भने पानीको व्यवस्था नै छैन ।
उर्लाबारीस्थित सार्वजनिक शौचालयमा पस्नै नसकिने गरी गन्हाउने तथा शौचालयको दुर्गन्ध टाढासम्म फैलिएको छ । उर्लाबारीको मुख्य चौकमा रहेको शौचालय आसपासबाट हिड्ने नागरिकले नाकमुख छोप्दै हिंड्नुपर्ने अवस्था छ । यस्तै, उर्लाबारी नगरपालिकाको शौचालयको दुर्गन्ध पनि अन्य कोठामा फैलने गरेको छ ।
कार्यालय तथा सार्वजनिक शौचालयको दुरावस्थाप्रति सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीले गुनासो गरेका छन् ।
उर्लाबारीमा विभिन्न चरणमा सरसफाई अभियानसमेत हुँदै आएका छन् । अभियानमा सरिक हुने कार्यालयका प्रमुखदेखि कर्मचारी तथा राजनीतिक दलका नेताहरू सरसफाइको नारालाई भने व्यबहारमा लागू गर्न भने सकेका छैनन् ।
जसले गर्दा उनीहरू नै दिसा पिसाबको गन्धबाट बच्न नाक मुख थुनेर हिंड्ने गरेका छन् । यस्तै उर्लाबारीलाई खुल्ला दिसामुक्त बनाउने अभियानले पूर्णता पाएपनि त्यो कागजमै सीमित छ । यहाँ सरसफाइ अभियानमा कार्यरत्त सरकारी तथा गैह्र सरकारी संस्था भने कागजमा प्रगति रिर्पोट बनाउँदै कानमा तेल हालेर बस्ने गरेका छन् ।