विराटनगर,फागुन ८ / नेपाल पत्रकार महासङ्घ मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ ।
समितिले नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरेर बिजयी पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा जिल्ला कार्यसमितिसहित केन्द्रीय र प्रदेश पार्षदहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
निर्वाचन समितिका प्रमुख दीपक दाहालले अध्यक्ष पदमा नवनिर्वाचित बन्धु पोखरेललगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी, केन्द्रिय र प्रदेश पार्षदलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष बन्धु पोखरेलले महासंघको केन्द्रीय नीति अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखालाई पत्रकारहरुको साझा थलोको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
निवर्तमान अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव धु्रव लम्साल, केन्द्रीय सदस्य गणेश लम्साल, निर्वाचन समितिका सदस्य अधिवक्ता पुरुषोत्तम नेपालले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।