विराटनगर, माघ १४ /पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा आजदेखि विराटनगरमा दुईदिने शैक्षिक मेला शुरु भएको छ ।
विराटनगर–९ स्थित आदर्श उच्च माध्यमिक विद्यालय परिसरमा शुरु भएको मेला पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै उपकुलपति प्रा. डा. घनश्यामलाल दासले पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेका विभिन्न संकायका शैक्षिक कार्यक्रमहरुले सफलता हासिल गर्दै आएको बताए । यस्तै हिसान मोरङका अध्यक्ष बलराम पन्तले भारतका गुणस्तरहीन कलेजहरुले नेपालमा आएर विज्ञापनकै भरमा विद्यार्थीहरु लैजाने गरेको भन्दै यसप्रकारको शैक्षिक मेलाले विद्यार्थी र अभिभावक लाभान्वित हुने बताए ।
पियू क्यानका उपाध्यक्ष गोपीकृष्ण न्यौपानेले पियूले गरेको शैक्षिक उन्नयनका बिषयमा विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले मेला सञ्चालन गरिएको जानकारी दिनुभयो । मेलामा ३१ वटा शैक्षिक स्टलहरु राखिएका छन् ।