AArya
RUMPUM
animated ellipse animated ellipse

सडकमा मागेरै चल्छ गुजारा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७३, सोमबार २१:५६
3
Shares
ईश्वरी भट्टराई
३ माघ उर्लाबारी / उर्लाबारीस्थित मधुमल्ला बसस्टेण्ड अगाडि एक बालिका पैदल यात्रुलाई छेक्दै सहयोग रकम मागिरहेकी थिइन् ।
मैला लुगा लगाएकी मधेसी मुलकी बालिकाको हातमा ‘कचौरा’ थियो । उनले बोलेको भाषा प्रष्ट नबुझिएपनि उनको इसारामा उनी बेसहारा र आफन्त विहिन छन भन्ने प्रष्ट हुन्छ ।
उनकै साथमा अर्की बालिका पनि पछिपछि कुद्दै आइरहेकी थिइन् । उनको हातमा पनि त्यस्तै ‘कचौंरा’ थियो । चार जनाको संख्यामा रहेका उनीहरू खल्तीमा हात हाल्न खोज्दा सबैले घेर्ने गर्छन् । एकजना को आग्रह इन्कार गर्नेप्रति आक्रोशित मुद्रामा देखिन्छन्, उनीहरू ।
त्यस्तै अधवैसे उमेरका देखिने एक मानिस उर्लाबारीको मुख्य चौंकमा बटुवासँग निसंकोच पैसा मागिरहेका थिए । दह्रो हातखुट्टा भएका उनी काम गर्न सक्षम देखिन्थे । विभिन्न रोगले च्यापेको दर्शाउने उनीजस्तै पातले र ख्याउटे मानिस पनि आफू मुटु रोगी भन्दै उपचारका लागि सहयोगको याचना गरिरहेका थिए । तर, बुझ्दै जाँदा उनीहरू बास्तविक रोगी भने होइन रहेछन ।
दिनभरि मागेको पैसाले साँझपख झल्लु हुने गरी उनीहरू मादक पदार्थ सेवन गर्छन् ।
अर्का एक पात्र पनि यस्तै थिए । जाडोमा लगाएको सुरूवाल घुँडासम्म सुर्किएर मागिरहेका थिए । दायाँ खुट्टामा रूमाल बानेका उनी खल्चाङ–खल्चाङ गर्दै पसल–पसल चहारिरहेका थिए । साँझमा उनको प्रकृति हेर्दा उनी मापसेमा लठ्ठ थिए ।
उर्लाबारीमा कचौरा वा हात फैलाउँदै पैदल यात्रीलाई पछ्याउने केटाकेटीदेखि बृद्धसम्मको व्यवहार अनौठो होइन । यहाँ हातमा असाहय तथा गरिब भएको पत्र बोकेर माग्दै हिड्ने, स–साना बालबालिका तथा २ देखि ३ महिनाका दुधे बच्चालाई काखमा च्यापेर सडक पेटीमा बसी सहयोगका लागि आग्रह गरिरहेको दृष्य सामान्य नै बन्ने गरेको छ ।
पछिल्लो समयमा उर्लाबारीमा सार्वजनिक सडक छेउमा छेकेर माग्नेहरूको संख्या बढ्दै गएको छ । उनीहरूको माग्ने बहाना फरक–फरक छन् ।
कोही प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालय लेखिएको लेटर प्याडमा खुइलिसकेको अक्षरमा लेमिनेसन गरिएको कागजात देखाएर माग्छन् । तर, उनीहरूले देखाएको प्रमाण सक्कली छैनन् । कोही हात भाँचिएको अभिनय गर्छन, जसको हातखुट्टा सद्धे छन् । परिवारबाट लखेटिएको, आफ्नो कोही पनि नभएको, धेरै दिनदेखि खाना खान नपाएकोजस्ता बहाना उनीहरू बनाउँछन् ।
विशेषगरी उर्लाबारीमा यसरी माग्न आउनेको संख्याले हैरानी बनाएको पसल व्यवसायीको भनाई छ । ‘माग्नेले जहाँ पनि हैरान पार्छन,’ उर्लाबारी–२ स्थित पिके ट्राभल्स एण्ड टुर्सका नुत्तन राईले भने, ‘हातखुट्टा सद्दे हुनेहरूले त गरिखाए हुन्थ्यो नि ।’
उता तस्विरमा देखिएकोजस्तै शैलीमा बालिकाहरू उर्लाबारीमा एक महिनायता मागिरहेका छन् । उनीहरूले बेलाबखत भने जबरजस्तीको शैलीमा माग्दै पछ्याउने गर्दा पैदल यात्रीले सास्तीसमेत व्यहोर्नु परेको छ । ‘यी बच्चाहरूले हैरान लगाउँछन,’ एक बटुवाले झोकिँदै भने, ‘सधैंभर उनीहरूकै लागि कहाँबाट पैसा ल्याउनु ? फेरि एउटा दियो सबैले पछ्याउँछन् ।’
यसरी उर्लाबारीमा माग्ने प्रवृत्ति विकृतिको रूपमा विस्तार भइरहेको छ । बटुवालाई छेकेर दयनीय अवस्था दर्शाउँदै कागजात देखाएर मागेकै भरमा उनीहरू आफ्नो जीवन भने चलाइरहेका छन् । अपवादमा कोही असहाय होलान, तिनीहरू रोगबाट पीडित होलान, काम गर्न नसक्ने होलान् ।
अधिकांश कलिला बालबालिका भएकाले जीवन चलाउन मुस्किल होला । तर, हातखुट्टा सग्ला भएका र बुबाआमा भएकाहरूले माग्ने ‘पेसा’ नै बनाएका छन् । ‘सानो परिवार सुखी परिवार’ भनेझैं परिवार नियोजनका अनेक साधन भएपनि न्यून आर्थिक अवस्था भएका परिवार छोराछोरीलाई जन्म दिएर माग्न बाध्य बनाइरहेका उदाहरण पनि छन् ।
यसरी सडकमा नक्कली कागजात बनाएर माग्न हिड्नेहरूको संख्या कति छ ? कसैलाई थाहा छैन । उनीहरूबारे अहिलेसम्म कुनै निकायले छानबिन पनि गरेको छैन । सडक बालबालिकाहरूलाई पुनस्र्थापना गर्ने प्रतिबद्धता विभिन्न संस्थाले गरेपनि सडक बालबालिकाको संख्या बढ्दो छ ।
संस्था पनि मागेरै चलाउँदै
‘यस क्यूज मी दाइ’ सुन्नुस् न … ‘लिसन टु मि’ भन्दै मुख्य चौकमा मिठो स्वरमा एक युवतीले अनुरोध गरिन् । सुकिलो लुगा र कलिलै उमेरका दुई युवती हात जोडेर नमस्कार गर्दै ‘हामी संस्थाको आर्थिक स्रोत जुटाउनलागि आएका हौं’ भन्दै आफ्नो बेलिबिस्तार सुनाउँदै सहयोग गरिदिनुहोला भन्न थाले ।
‘हजुरको एउटा सानो सहयोगले संस्था चल्नेछ’ भन्दै उनीहरूले कलम किनिदिन अनुरोध गरे । नजिकै रहेका उनीहरूका साथी दुई युवाले मजस्तै एक जनालाई सहयोग गरेबापत रसिद थमाउँदै थिए । कलम बेचेर भएपनि संस्था चलाउन बाध्य भन्दै उनीहरूले नाम भन्न उल्लेख गर्दै संस्थाको ठेगाना, नामसमेत प्रष्ट नभएको रसिद देखाए ।
घर–घरमा गएर वा मुख्य चौकमा संस्थाका लागि सहयोग भन्दै बाटो
छेक्नेको विषयमा पनि कही कतैबाट छानविन हुन सकेको छैन ।
मानसिक सन्तुलन गुमाउनेको संख्या पनि बढ्दो उर्लाबारीका सडक र
गल्लीहरूमा भौंतारिदै हिँड्ने मानसिक सन्तुलन ठीक नभएकाहरू पनि उर्लाबारीमा आधा दर्जनको संख्यामा छन् । उनीहरू सडकमा जताततै हिड्नाले सडक दुर्घटनाको जोखिम बढेको नै छ त्यसमाथि पनि बसेको ठाउँमा फोहोर गर्ने गरेकाले उनीहरूको डुङ्डुङ्ती गनाउने शरीरले नाक छोप्दै हिड्नुपर्ने अवस्था छ ।
हेर्दा भारतीय मूलका देखिने उनीहरू कहाँबाट आए कुनै निकायले छानविन गर्न सकेको छैन । साथै उनीहरूको व्यवस्थापनका लागि कहिकतैबाट सरोकारवाला निकायले चासो पनि देखाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर