CLASSICTECH NET

राष्ट्रिय परीक्षा बोर्ड स्वायत्त हुन सक्ला?

खबर पूर्वाञ्चल, ४ पुष २०७३, सोमबार २१:३५
४ पुस, काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वानसँगै यो संस्था शिक्षा मन्त्रालयको अङ्ग वा स्वायत्त निकाय हुने भन्ने बहस सुरु भएको छ ।
विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित बोर्डको अध्यक्ष छ महिनादेखि रिक्त हुन बाँकी रहेकामा सरकारले नियुक्तिका लागि सार्वजनिक आह्वान गरेको छ ।
समितिले योग्यता पुगेका व्यक्तिसँग व्यावसायिक अवधारणापत्रसहित दरखास्त आह्वान गरेको हो ।  शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) को दफा ४ को १ बमोजिम गठित सिफारिस समितिले अध्यक्ष नियुक्तिका लागि बनाएको कार्यविधिमा शिक्षाविद् सन्तुष्ट देखिएका छैनन् ।
बोर्डले हाल तत्कालीन उमावि शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालयबाट रूपान्तरित कर्मचारी संयन्त्रबाट काम सञ्चालन गरिरहेको छ । अध्यक्षका लागि आह्वान गरिएको कार्यविधिमा ४० देखि ६१ वर्ष उमेरका नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट वा प्राध्यापक तहमा कम्तीमा १२ वर्ष अनुभव भएका व्यक्तिलाई योग्य मानिएको छ । त्यस्ता उम्मेदवारले परीक्षाको व्यवस्थापन र सञ्चालन गरेको हुनुपर्ने कार्यविधि बनाइएको छ ।
गत असार १५ देखि लागू भएको ऐनबमोजिम बोर्डको अध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएपछि नियुक्ति प्रक्रिया सुरु भएको हो ।
शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले मूल्याङ्कन र सुपरीवेक्षण तथा परीक्षा पद्धतिमा अनुभव भएका कम्तीमा विद्यावारिधिप्राप्त व्यक्ति अध्यक्ष र बोर्ड आफैंमा मन्त्रालयको अङ्ग नभई स्वायत्त हुनुपर्ने सुझाव आफूले दिएको बताए । उनले बोर्डका सदस्य सचिव पनि मन्त्रालयका सहसचिव नभई खुला प्रतिस्पर्धाबाट नियुक्त हुनुपर्ने मत राखेका छन् । परीक्षा विज्ञबाट बोर्ड प्रमुख भएमा विद्यालय शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने उनीहरुको मत छ ।
बोर्डका उपाध्यक्षमा मन्त्रालयका सचिव पदेन हुने व्यवस्था छ भने सदस्य सचिवमा सहसचिव सूर्यप्रसाद गौतमलाई जिम्मा दिइएको छ । उपाध्यक्षमा सरकारको सचिव भई अध्यक्ष पद सोभन्दा माथिल्लो ओहोदाको हुने भएकाले पूर्वसचिव वा वरिष्ठ विज्ञमध्येबाट अध्यक्ष नियुक्ति हुने देखिएको छ ।
सदस्य सचिव गौतमले सिफारिस समितिले कार्यविधि बनाएर दरखास्त आह्वान गरेकाले आफूहरुले चाँडै नेतृत्व पाउने अपेक्षा व्यक्त गरे ।
अध्यक्ष नियुक्त नहुँदा बोर्डको कर्मचारी दरबन्दी स्वीकृत हुन सकेको छैन । संशोधित ऐनले कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको नयाँ संरचनाको व्यवस्था गरेपछि बोर्डको स्थापना भएको हो ।
मन्त्रालयले बोर्डका कार्यालय प्रदेशस्तरमा पनि खोल्ने तयारी गरेको छ । रासस

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५