स्थानीय तहको निर्वाचन नभएर संसदको निर्वाचन गराउँ भन्नु वितण्डा -प्रधानमन्त्री प्रचण्ड
पूर्वाञ्चल खबर
३ पुष २०७३, आईतवार १६:१९
3
Shares
फाइल तस्वीर
३ पुस,विराटनगर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन नभएर केन्द्रीय संसदको निर्वाचन गराउँ भन्नु वितण्डा भएको बताएका छन् ।
विराटनगर विमानस्थलमै आज विहान प्रेस सेन्टर मोरङले आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संविधानमै नभएको विषय ल्याएर प्रतिपक्षीले वितण्डा मच्चाएको आरोप लगाएका छन् ।
‘अहिलेको संविधानमा स्थानीय तह, प्रादेशिक निर्वाचन पछि मात्रै संघीय संसदको निर्वाचन हुने भनेको छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले संविधानले नै परिकल्पना नगरको विषय अघि हुनुपर्छ भन्नु वितण्डा मात्रै हो ।’
पहिले स्थानीय तहकै हुनुपर्ने बताउँदै प्रचण्डले राज्य पुनसंरचना आयोगले अबको दुई÷तीन दिनमा प्रतिवेदन बुझाउने र त्यसपछि निर्वाचनका लागि सरकारले तयारी गर्ने बताए ।
पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै प्रचण्डले यदि त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने दाबी गरे ।
वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने प्रचण्डको दाबी थियो । ‘उक्त प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदको कुरा हो,’ प्रचण्डले भन्नुभयो,’ ‘कोही कसैले गैर संसदीय र गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु हुँदैन ।’
एमालेले जति छिटो अवरुद्ध संसद खुलाउँछ त्यति चाँडै वर्तमान गतिरोधको अन्त्य हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रक्रियामा लोकतान्त्रिक विधिको अभ्यास गर्ने थलो संसद नै भएकोले यो विधि स्थापित गर्न र अवरुद्ध संसद खुलाउन सबैले दबाब दिनुपर्नेमा जोड दिए ।
अहिले मुख्यतः तीनवटा काम संविधान संशोधन प्रस्तावको टुंगो लगाउने, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्तावको टुंगो लगाउने र निर्वाचनको मिति तय गर्नुपर्ने आवश्यकता रहेकोले संसद अवरुद्ध गरिरहनु भनेको राष्ट्रलाई र स्वयं एमालेलाई क्षति भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको १ नं. प्रदेशका केन्द्रीय आयोजक समितिका सदस्यहरु सम्मिलित विशेष बैठकमा सहभागी हुन विराटनगर आएका ह्न् । प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायण काजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल पनि बैठकमा सहभागी हुने बताइएको छ ।