२८ मंसिर, विराटनगर /सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल क्षेत्रीय छनोटका विभिन्न खेलमा विजयी हुँदै खेलाडी छनोट भएका छन्
मंगलबार मोरङको लेटाङमा भएको महिला फुटबलको पहिलो खेलमा ताप्लेजुङले इलामलाई सडेन डेथको आधारमा ३–२ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोल रहित बराबरी भएपछि निर्णयका लागि भएको पेनाल्टीमा समेत २–२ गोल को बराबरी भएपछि सडेन डेथको आधारमा निर्णय भएको हो । त्यसैगरी दोस्रो खेलमा मोरङले झापालाई १–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङका लागि एकमात्र निर्णायक गोल मुना राईले गरेकी थिइन ।
झापामा भएको पुरुष फुटबल खेलमा सुनसरीले मोरङलाई हराउँदै पूर्वाञ्चल छनोट खेलमा प्रथम भएको छ । सुनसरीका लागि एकमात्र गोल निशान राईले गरेका थिए । त्यस्तै सप्तरीले पाँचथरलाई हराउँदै तेस्रो भएको छ । सप्तरीका अर्जुन रानामगरले गल् गर्दै टिमलाई विजयी बनाए ।
त्यसैगरी सुनसरीमा भएको कबड्डी खेलको पुरुषततर्फ सप्तरी प्रथम, झापा द्वितिय र उदयपुर तृतिय भयो । त्यस्तै महिलाततर्फ झापा प्रथम, मोरङ द्वितिय र सप्तरी तृतिय भए । कबड्डीको पुरुषततर्फ मोरङबाट दिपेन्द्र राजवंशी, बाबुनन्दन यादव, सुनसरीबाट सकलदेव यादव, सप्तरीबाट प्रकाश साह, महेश मण्डल, ललितकुमार मण्डल, सुरेश यादव, घनश्याम साह, समुन चौधरी, उदयपुरबाट रामचन्द्र साह, झापाबाट आयुष मेचे र रुपेश राजवंशी छनोट भएका छन् . वैकल्पिक खेलाडीमा ओखलढुंगाका विष्णु राई, झापाका अमृत मेचे र झापाकै ब्रम्हलाल राजवंशी परेका छन् .
महिलाततर्फ मोरङबाट वर्षा राजवंशी, विद्या नेपाली, अम्बिका राजवंशी, सुनसरीबाट खुश्वु चौधरी, उदयपुरका सन्तोषी चौधरी, ओखलढुंगाकी नम्रता बानिया, झापाबाट मेनुका राजवंशी, सन्चिता विक, अनु तामाङ, सुशिला मेचे, विनु साह र सप्तरीबाट सरस्वती चौधरी छनोट भए । वैकल्पिक खेलाडीमा झापाकी सुमित्रा कुलुङ, मोरङकी राधा माझी र सप्तरीकी कुस्तीका चौधरी रहेका छन् ।
त्यसैगरी विराटनगरमा जारी करातेको महिला कुमुते ६८ केजी तौल समुहमा मोरङकी सरला राई र खोटाङकी मिस्टोना राई, ६१ केजी तौल समुहमा खोटाङकी जस्मीन राई र भोजपुरकी अस्तिता राई, ५५ केजी तौल समुहमा झापाकी एस्तार राई र मोरङकी रमिता थापा, ४५ केजी तौल समुहमा सुनसरीकी मेघा लिम्बु र इलामकी प्रिया बस्नेत, ५० केजी तौल समुहमा सुनसरीकी जीना सुब्बा र तेह्रथुमकी रिती लोगुन तथा ६८ केजीमाथि मोरङकी रोजिला लिम्बु र झापाकी सुनिता लिङथेन फाइनल चरणमा प्रवेश गरेका छन् । त्यसैगरी पुरुष कुमुतेततर्फ ५० केजी तौल समुहमा मोरङका विवेक थापा र खोटाङका अर्जुन श्रेष्ठ फाइनलमा प्रवेश गरे ।