१४ मंसिर,उर्लाबारी/ दोस्रो उर्लाबारी नगर कप फुटबल हुने भएको छ । आयोजक उर्लाबारी फुटबल क्लबले मंगलबार उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर २४ गतेदेखि प्रतियोगिता हुने जानकारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई दबाब दिने हेतुले यो वर्षको नगर कप आयोजक गर्न लागेको हो । आयोजकका अध्यक्ष दिपेन्द्र धिमालले पौष अन्तिम देखि माघ पहिलो सातामा नगर कपको आयोजना हुन्थयो,यो वर्ष राखेपलाई दबाब दिने हेतुले चाडै नै प्रतियोगिता गर्न लागेका बताए ।
उर्लाबारी नगरपालिकाका सबै ९ वटै वडाहरुको सहभागिता रहने प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले प्रायोजन गर्ने आयोजकले जनाएको छ । नगरकपको उपाधि जित्नेलाई नगद ४० हजार तथा उपविजेताले नगद २५ हजार प्राप्त गर्ने उर्लाबारी फुटबल क्लबका कोषाध्यक्ष योगराज फागोले बताए ।
पौष २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न तीन लाख १४ हजार खर्च हुने फागोले जनाएका छन् ।
उर्लाबारी नगर क्षेत्रमा रहेको क्लबहरुलाई परिचालन,राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन,युवा जनशक्तिलाई विकास अनुशासन,गतिशिल बनाउने तथा खेलकुसँग सम्बन्धित संघसंस्थाहरुको समन्वय र सम्पर्कमा विस्तार गर्ने हेतुले उर्लाबारीमा नगर कप खेलाइदै आइएको उर्लाबारी फुटबल क्लबले जनाएको छ ।
उर्लाबारी–३ मा रहेको राधिका उमाविको खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगितामा जिल्ला फुटबल संघ,नगर खेलकुद विकास समिति,राष्ट्रिय खेलकुद परिषद काठमाडौँ लगायतका संस्था तथा निकायले प्रतियोगिता सहयोग गर्ने छन् ।