पूर्वाञ्चल खबर
अनेरास्ववियु जिल्ला कमिटीको अधिवेशन असोज २४ र २५ गते गर्ने तयारी पुरा भइसकेको पोमुले शनिवार कुटपिट गर्दै घरघर गएर विद्यार्थी र कार्यकर्तालाई धम्की दिएको अनेरास्ववियु ताप्लेजुङका इन्चार्ज रोशन लामाले बताए । पोमुको कुटपिटबाट सन्दीप श्रेष्ठ घाइते भएको उनको भनाइ छ । उनको झापामा उपचार भइरहेको छ ।
इन्चार्ज लामाले विद्यार्थीहरू आफ्नै पार्टीका नेताबाट कुटाइ खाने र विस्थापित हुने खतरा आएपछि अधिवेशन स्थगित गरेर आफू झापा आएको बताए । पोमुले नगर अधिवेशनका क्रममा अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य नारद गौतम, पार्टीको तर्फबाट विद्यार्थी हेर्ने इन्चार्ज लेखनाथ भट्टराईलाई समेत धम्क्याएको लामाले बताएका छन् । अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा सुरुमा विवाद उत्पन्न भएको थियो ।
लामो समयदेखि अनेरास्ववियु ताप्लेजुङको गतिविधि हुन नसकेको र कमिटीहरूसमेत बन्न नसकेको अवस्थामा कमिटीहरू निर्माण गर्दै अधिवेशनको अन्तिम तयारी भइसक्दा आफ्नै नेताको असुरक्षाका कारण अधिवेशन स्थगित गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।
होटेलमा रहेका अन्य विद्यार्थीलाई पनि खुकुरी देखाएर यहाँ मनपरी गर्ने भन्दै पोमुले धम्क्याएको विद्यार्थीहरूले बताएका छन् ।
ताप्लेजुङमा पछिल्लो समय क्याम्पस कमिटी र पालिका कमिटीहरू निर्माण भइसकेका छन् ।