खबर पूर्वाञ्चल
काठमान्डौं / एएफसी सोलिडारिटी कपमा नेपालले उत्कृष्ठ खेल प्रर्दशन गर्दै ब्रुनाईलाई पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको समुह ए अन्तरगतको दोस्रो खेलमा नेपालले ब्रुनाईलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालकालागि तीनवटै स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले समुह विजेता हुदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलमार्फत अग्रता दिएको नेपालका लागि ७२ औ मिनेटमा भरत खवासले दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ८० औ मिनेटमा विमल घर्तिमगरले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई ३–० को जित सुनिश्चित गरेका थिए ।
विमललाई विङ्गरमा खेलाउदै प्रशिक्षक ग्यातुकी कोजीले नेपालको अग्रपङ्तीमा भरत खवास र नवयुग श्रेष्ठलाई उतारेका थिए ।
मलेसियाको कोचिङस्थित सरावाक रंगशालामा भएको खेलमा नेपालले १० वर्ष अघि एएफसी च्यालेन्ज कपमा ब्रुनाईबाट भोगेकोे पराजयको बदला पनि लिएको छ । सन् २००६ मा बंगलादेशमा आयोजना भएको च्यालेन्ज कपमा नेपाल २–१ ले ब्रुनाईसँग पराजित भएको थियो ।
नेपालले शनिवार भएको आफनो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको टिमोर लिस्टेसँग गोल रहित बरावरी खेलेको थियो ।
शिर्ष स्थानको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । दोस्रो स्थानको ब्रुनाईले ३ र तेस्रो स्थानको टिमोर लिस्टेले १ अंक जोडेका छन ।