RUMPUM
animated ellipse animated ellipse

पार्किङ व्यवस्थापनको कमजोरीले न्यूरो अस्पतालबाट फेरि मोटरसाइकल चोरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०८३, शनिबार २१:३८
3
Shares
neu
विराटनगर / विराटनगरस्थित न्यूरो अस्पताल परिसरबाट बिरामीका आफन्तले पार्किङ गरेर राखेको मोटरसाइकल फेरि चोरी भएको छ ।

अस्पताल आसपासबाट निरन्तर मोटरसाइकल चोरी भइरहँदा प्रहरीको सुरक्षा व्यवस्था र अस्पतालको पार्किङ व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा चोरी नियन्त्रणका लागि चौबीसै घण्टा प्रहरी परिचालन गरिएको तथा सादा पोशाकमा समेत निगरानी बढाइएको मोरङ प्रहरीले दाबी गर्दै आएको छ । तर, अस्पतालजस्तो संवेदनशील क्षेत्रबाटै हरेक हप्ता मोटरसाइकल चोरी भइरहेका घटनाले प्रहरीको दाबीमाथि प्रश्न उठाएको हो ।

स्थानीयका अनुसार दसैंयता मात्रै न्यूरो अस्पताल आसपासबाट पाँचवटा मोटरसाइकल चोरी भएका छन् । आज पनि अस्पतालको पूर्वतर्फ सडक किनारमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको हो । एक वर्षको अवधिमा उक्त क्षेत्रबाट ४० वटाभन्दा बढी मोटरसाइकल चोरी भएको स्थानीयको दाबी छ ।

मोटरसाइकल चोरीका घटना निरन्तर भइरहे पनि प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । चोरीका घटनाबारे सञ्चारमाध्यमलाई जानकारी नदिन प्रहरीले दबाब दिने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् ।

‘सादा पोशाकमा आएका प्रहरीले अनुसन्धान गरिरहेका छौँ, मोटरसाइकल चोरी भएको भनेर पत्रकारलाई नभन्नुहोला भन्दै गएका छन्,’ एक स्थानीयले भने, ‘प्रहरीले केको अनुसन्धान गरिरहेको छ भन्ने थाहा छैन । तर, हरेक हप्ता मोटरसाइकल चोरी भइरहेकै छन् ।’

स्थानीयले मोटरसाइकल चोरी बढ्नुमा अस्पतालको पार्किङ व्यवस्थापन पनि कमजोर रहेको बताएका छन् । अस्पतालले तोकेको पार्किङस्थल व्यवस्थित नहुँदा बिरामीका आफन्तले सडक किनार तथा फुटपाथमा मोटरसाइकल राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । पार्किङस्थल खोलाको बगरजस्तो रहेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

अस्पतालले करोडौँ रुपैयाँ खर्च गरेर भवन तथा भौतिक संरचना निर्माण गरे पनि बिरामी र आफन्तका सवारीसाधन सुरक्षित राख्ने व्यवस्थित पार्किङको व्यवस्था गर्न नसकेको स्थानीयको गुनासो छ । अस्पताल आउने सेवाग्राहीले पार्किङस्थल कहाँ छ भन्ने जानकारीसमेत सहज रूपमा पाउन नसकेको उनीहरू बताउँछन् ।

एक वर्षभित्रै पछाडिको चार–पाँच तले भवन बनायो अस्पतालले, तर पार्किङस्थल हेर्दा खोलाको बगरजस्तो छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘विराटनगरमा अरू पनि अस्पताल छन्, तर न्यूरोबाटै किन यति धेरै मोटरसाइकल हराइरहेका छन् ? यस विषयमा पनि गम्भीर अनुसन्धान हुनुपर्छ ।’

पार्किङ व्यवस्थापनको कमजोरीले अस्पतालअगाडिको सडकसमेत अस्तव्यस्त बनेको छ । सडक तथा फुटपाथमा पार्किङ गरिएका मोटरसाइकल र यात्रु कुरेर बसेका सिटी सफारीका कारण साँघुरो सडकमा आवागमन प्रभावित हुने गरेको छ । ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा बिरामी बोकेका सवारीसाधन तथा सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।

आफन्तको उपचारका लागि भोजपुरबाट आएका सन्तोष राईले पार्किङको समस्याले बिरामीका आफन्तलाई दोहोरो जोखिममा पारेको बताए । उनका अनुसार अस्पतालमा सवारीसाधन राख्ने व्यवस्थित ठाउँ नहुँदा सडकमा पार्किङ गर्नुपर्ने र त्यहाँ चोरीको जोखिमसमेत रहने गरेको छ ।

‘अस्पतालमा उपचार गराउँदा महँगो शुल्क तिर्नुपर्छ । यस्तो अवस्थामा बिरामीका आफन्तको सवारीसाधनको सुरक्षामा पनि अस्पतालले ध्यान दिनुपर्छ,’ राईले भने, ‘व्यवस्थित पार्किङ बनाउन नसक्ने हो भने पार्किङ गरिने सडक क्षेत्रमा सीसीटीभी क्यामेरा र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर