विराटनगर, ११ बैशाख / नेपाली कांग्रेसका जनप्रतिनिधि प्रल्हाद शर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट विरानटगर ८ नम्बर वडाबाट निर्वाचित शर्मा आज एमालेमा प्रवेश गरेका हुन् ।
४० वर्षसम्म नेपाली कांग्रेसमा कृयाशिल रहेका शर्मा नेकपा एमालेको निती र सिद्धान्तबाट प्रेरित भएर एमालेमा प्रवेश गरेका हुन् । उनले एमाले प्रवेश पछि भने,‘देशको आर्थिक विकास र जनताप्रति बढी उत्तरदायी एमाले मात्र भएको महशुष भएपछि प्रवेश गरेको हुँ, मलाई व्यक्तिले होइन पार्टीको निति र सिद्धान्तले प्रभाव पा¥यो ।’ मारवाडि समुदायका शर्मा समाजसेवी समेत हुन् । शर्मा सँगै दुई उद्योगीहरु विनोद शर्मा र विजय शर्मा पनि एमालेमा प्रवेश गरेका छन् ।
प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले विभिन्न पार्टी परित्याग गरेर एमालेमा आउने जनलहरकै कारण यतिबेला अन्य राजनितिक दलहरु अतालिएको बताएका छन् । नेकपा एमालेले सञ्चालन गरेको मेचि–महाकाली अभियानदेखि यता एक लाख भन्दा बढी जनता एमालेमा प्रवेश गरिसकेको र गर्ने क्रम जारी रहेको बताए । ‘यहि देखेर यतिबेला सरकार र सत्तासाझेदार दलहरु चुनावमा जान डराइरहेका छन्,’ उनले भने,‘विभिन्न वहानामा निर्वाचन टार्न खोज्दैछन्, त्यो योजना एमालेले सफल हुन दिदैन ।’
नेता पण्डितले कांग्रेस र माओवादी केन्द्रका केन्द्रिय समितिमा नै एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसक्ने विषयमा छलफल भएका समाचार बाहिर आएको स्मरण गरे । उनले भने, हार्ने चुनावमा कसरी भाग लिने भनेर कतिपय दलहरु अत्तालिएका छन् र चुनाव टार्न खोज्दैछन् ।
एमालेले भने जतिसक्दो छिटो चुनाव गरेर जनताका प्रतिनिधिलाई अधिकार सुम्पन्न चाहेको बताए । उनले संविधानलाई कार्यान्वयन गरेर मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमाले आतुर रहेको बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार मोति दुगडले आर्थिक क्रान्ति गर्न एमालेमात्र सक्षम रहेको भन्दै यो पार्टी नै उद्योगी व्यवसायीहरुको आकर्षकणको केन्द्र बनेको बताए । एमाले मोरङ अध्यक्ष विनोद ढकालले स्थानीय निकायको चुनाव पछि सारेपनि कार्यकर्ताहरु भने चुनावी अभियानमा कृयाशिल रहनुपर्नेमा जोड दिए । उनले अन्य पार्टी परित्याग गरेर आउनेहरुलाई क्षमता र कुशलताको मुल्याकंन गर्दै उचित जिम्मेवारी दिइने बताए ।
नेकपा एमाले विराटनगर नगरकमिटीले आयोजना गरेको कार्यक्रममा नगर इञ्चार्ज सागर थापा र यूवासंघका सचिव पर्शुराम बस्नेतलगायतले नवप्रवेशीलाई स्वागत गरे ।