पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ निवासी ३५ वर्षीय निक्कु भनिने वीरेन्द्र सिंह रहेका छन्। उनले विगत एक वर्षदेखि रोडशेष चोकमा वीरेन्द्र होटल एण्ड लज सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त विशेष टोलीले बुधबार साँझ होटलमा छापा मारेको थियो। सोही क्रममा सिंहलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटलमा लागूऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा केही समयदेखि निगरानी भइरहेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा होटललाई आवरण बनाएर लागूऔषध कारोबारसँगै यौनधन्दासमेत सञ्चालन हुने गरेको आशंका गरिएको छ।
होटलमा गैरकानुनी गतिविधि भइरहेको सूचनापछि प्रहरीले विशेष निगरानी बढाएको थियो। सोही क्रममा प्राप्त सूचनाको पुष्टि गर्न संयुक्त प्रहरी टोली परिचालन गरी छापा मारिएको बताइएको छ।
पक्राउ परेका सिंहमाथि लागूऔषध कारोबार तथा होटलमा हुने गरेको भनिएका अन्य गैरकानुनी गतिविधिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण तथा संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यसमेत अघि बढाएको छ।