पूर्वाञ्चल खबर
मोरङ प्रहरीको टोलीले सोमबार बिहान सुधार गृहमा छापा मारेर मोबाइल बरामद गरेको बाल सुधार गृह विराटनगरका प्रमुख सञ्जीव न्यौपानेले जानकारी दिए ।
‘प्रशासनबाट नियमित रूपमा चेकजाँच हुने गरेको छ । सोही क्रममा सुधार गृहभित्र रहेका बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएका हुन्,’ उनले भने ।
मोबाइलसँगै सुधार गृहभित्र सुर्तीजन्य वस्तुसमेत फेला परेको छ । बाल सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक ९सई० को कमान्डमा ११ जना प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था हुँदाहुँदै पनि बालबिज्याइँकर्ताका आफन्तले सुरक्षा निकायको आँखा छलेर मोबाइल फोन भित्र पुर्याएको हुन सक्ने अनुमान गरिएको छ ।
बाल सुधार गृहमा क्षमताभन्दा निकै बढी बालबिज्याइँकर्ता राखिएका छन् । ५० जनाको क्षमता रहेको ए ब्लकमा १९३ जना छन् । त्यस्तै, कारागारभित्र रहेको बी ब्लकमा ६२ जना रहेका छन् । बी ब्लकमा १८ वर्ष उमेर नाघेका र उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई राखिएको छ । दुवै ब्लकमा गरी सोमबारसम्म २५५ जना रहेका छन् ।
यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न जाने क्रममा दुई जना युवतीको साथबाट लागूऔषध बरामद भएको थियो । सशस्त्र प्रहरीले शंका लागेर कारागारको मुख्य गेटमा जाँच गर्ने क्रममा ती युवतीको साथबाट लागूऔषध फेला पारेको थियो ।