AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महानगर मातहतका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७९, आईतवार २०:०८
828
Shares
विराटनगर / विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए ।

“हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा खटिएकै हो,” कार्कीले भने, “महानगर मातहत भएका स्वास्थ्य संस्थाहरूलाई भौतिक संरचना र स्रोत साधनयुक्त बनाउनु आवश्यक छ ।”
सो अवसरमा महानगरका मेयर नागेश कोइरालाले आफूहरूले कुनै कर्मचारीलाई निर्देशन नदिने बताए । उनले सबैको ज्ञान, सीप र अनुभवबाट महानगर बनाउने उल्लेख गरे । “तपाईंहरू ढुक्कले काम गर्नुहोस्, हामी यसो गर उसो गर भनेर निर्देशन दिँदैनौं, किनभने हामीसित तपाईंहरूसँग भएको सीप छैन,” कोइरालाले भने, “हामीले तपाईंहरूलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने हो ।”

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको विकासका लागि राजनैतिक विचारभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले बेग्लाबेग्लै पार्टीबाट जितेर आए पनि महानगरभित्र राजनीति पस्न नदिने उल्लेख गरे । “मेयर–उपमेयर मात्रै होइन वडाका अध्यक्ष र सदस्यहरू विभिन्न राजनैतिक पृष्ठभूमिबाट आएका छौं । तर हामी महानगरभित्र राजनीति हुन दिँदैनौं,” उपमेयर कार्कीले थपिन्, “हामी सबै विराटनगर बनाउन आएका हौं, हाम्रो ध्यान त्यतैमात्रै केन्द्रित हुन्छ ।”

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापापागाईं, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, स्वास्थ्यकर्मी संघ मोरङका सचिव मातृका उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर