पूर्वाञ्चल खबर
प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबीचको खेल आज साँझ ५ बजे सुरु हुनेछ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी र अघिल्लो संस्करणको फाइनलमा पराजित सुदूरपश्चिमबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । तेस्रो एनपीएलको सिंगल राउण्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ ।
तेस्रो संस्करणको एनपीएल विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली ९डीआरएस० समेत लागू गरिने क्यानले जनाएको छ । डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मकता थप बढ्ने अपेक्षा गरिएको छ ।
यसपटक उपाधि जित्ने होडमा विराटनगर किङ्ससहित ८ वटा फ्रेन्चाइज टोली मैदानमा उत्रिँदैछन् । प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर भोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजले लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । मंगलबारदेखि भने दैनिक दुई खेलहरू (दिउँसो १२ः३० र साँझ ५ः०० बजे) सञ्चालन हुनेछन् ।
क्यानले प्रायोजन, प्रत्यक्ष प्रसारण र टिकट बिक्रीबाट यसपटक करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने प्रक्षेपण गरेको छ । आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता र ठूलो पुरस्कार राशीका कारण यसपटकको एनपिएलले नेपाली क्रिकेटमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।