RUMPUM
animated ellipse animated ellipse

लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०८३, बिहीबार ०७:२५
36
Shares
विराटनगर / ब्राइट भिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोक सेवा आयोगको परीक्षामा उत्कृष्ट हुँदै योग्यता क्रममा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् ।

लामिछाने नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरकारी वकिल समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदमा छनोट भएका हुन् । उनले सरकारी वकिल समूह रोजेका छन् । लोकसेवा आयोगको सोमबार प्रकाशित नतिजा अनुसार लामिछानेसँगै ब्राइट भिजन ल कलेजका अन्य तीन विद्यार्थी पनि सरकारी सेवामा नियुक्तिका लागि सफल भएका छन् ।

कलेजका निशाना भट्टराई, कृष्मा निरौला र शिवकुमार यादवले पनि लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका हुन् । उनीहरूले न्याय सेवा रोजेको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए । कलेजका विद्यार्थीले लोक सेवा आयोगको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु गौरवको विषय भएको आचार्यले बताए । विशेषगरी लामिछानेले योग्यता क्रममा पहिलो स्थान हासिल गर्नु कलेजका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

कलेजका प्रमुख आचार्यका अनुसार लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी ब्राइट भिजन ल कलेजबाट अध्ययन गरेका करिब तीन दर्जन विद्यार्थी सरकारी सेवामा कार्यरत छन् । तीमध्ये अधिकांश न्याय सेवामा आबद्ध रहेको उनले जानकारी दिए ।

कानुन शिक्षासँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षामा सफल बनाउन कलेजले हासिल गरेको उपलब्धिले कानुन अध्ययन गर्ने विद्यार्थीका लागि सरकारी सेवामा प्रवेशको सम्भावनासमेत उजागर गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्राइट भिजन ल कलेज सन् २०१० मा काठमाडौं उपत्यकाबाहिर स्थापित पहिलो कानुन कलेज हो । कलेजमा पाँचवर्षे बीएएलएलबी र दुईवर्षे एलएलएम कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कानुन शिक्षाका क्षेत्रमा स्थापित यस कलेजका विद्यार्थीले लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा हासिल गरेको सफलताले कलेजको शैक्षिक उपलब्धिलाई थप उजागर गरेको प्रमुख आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर