AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मापदण्डविपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०८३, मंगलवार १९:३४
3
Shares
विराटनगर /विराटनगरस्थित हस्पिटल चोकमा सञ्चालित तीनवटा फार्मेसी (औषधि पसल) मा अनुगमन टोलीले सिलबन्दी गरेको छ।

आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि औषधि व्यवस्था विभागले ‘इमान फार्मेसी’, ‘खुश फार्मेसी’ र ‘सुरेश फार्मेसी’ मा सिलबन्दी गरेको हो।

नवीकरण नगरेको, अनुमतिविना ठाउँसारी गरेको र अनुचित रूपमा औषधिको भण्डारण गरेको पाइएपछि ती फार्मेसीहरू सिलबन्दी गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काले जानकारी दिए।

निरीक्षक खड्काका अनुसार खुश फार्मेसीमा अनुगमनका क्रममा व्यवसायी (फार्मासिस्ट) अनुपस्थित रहेको, औषधि विज्ञ नभएको र दर्तारहित (विना दर्ताका) औषधिहरू समेत बिक्रीका लागि राखिएको फेला परेपछि सिलबन्दी गरिएको हो। त्यस्तै, इमान फार्मेसीको नवीकरण म्याद गुज्रिएको र विभागबाट स्वीकृति नलिई ठाउँसारी गरेर सञ्चालन गरिएको पाइएको छ।

यसैगरी, सुरेश फार्मेसीले भने विगत ६ वर्षदेखि २०७५ सालयता नवीकरण नै नगराई पसल सञ्चालन गरिरहेको फेला परेको थियो। यस्ता गम्भीर लापरबाही र कैफियत भेटिएपछि तत्काल सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ।

फार्मेसी निरीक्षक खड्काले भने, “सुरेश फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको पाइयो। औषधि ऐनको संशोधित व्यवस्थाअनुसार पनि पसलको म्याद सकिएको ३० दिन ९एक महिना० भित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ। सो अवधिभित्र नवीकरण नगरे पसल स्वतः विना दर्ताको ठहरिन्छ। त्यसैले हामीले कानुनबमोजिम सिलबन्दी गरेका हौँ।”

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको उक्त संयुक्त अनुगमनमा औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा बिलबिजक दुरुस्त नराख्ने औषधि पसलहरूलाई राजस्व अनुसन्धान कार्यालयले जरिवानासमेत गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर