AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालीका नाममा व्यापार गर्ने चिनियाँ नागरिक विराटनगरबाट फेरी नियन्त्रणमा, अध्यागमन विभाग पठाइयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०८३, सोमबार २१:१८
3
Shares
विराटनगर /नेपाली नागरिकको नाममा फर्म दर्ता गरी भिसाको सर्तविपरीत खुद्रा व्यापार सञ्चालन गरिरहेका एक चिनियाँ नागरिकलाई प्रशासनले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङसहितको संयुक्त टोलीले सोमबार गरेको अनुगमनका क्रममा चिनियाँ नागरिक लि जोसिज्याक पक्राउ परेका हुन्।

विराटनगर महानगरपालिका–२ डीएसपी रोडमा सञ्चालित ‘एभरपिक सप्लायर्स’ नेपाली नागरिकको नाममा दर्ता रहेको तर वास्तविक कारोबार भने विदेशी नागरिकले गरिरहेको फेला परेको हो।

उक्त कस्मेटिक तथा घरायसी सामग्रीको पसल सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ की राधिका बस्नेत कार्कीका नाममा दर्ता रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेशकुमार झाले जानकारी दिए।

‘फर्म नेपालीको नाममा देखिए पनि पसलको सम्पूर्ण व्यवस्थापन र कारोबार चिनियाँ नागरिकले नै गर्दै आएको पाइयो,’ प्रमुख झाले भने, ‘सामानको खरिद स्रोत, राजस्वको अवस्था र व्यवसाय सञ्चालनसम्बन्धी कागजातको अध्ययन भइरहेको छ।’

अनुगमन टोलीले पसललाई सम्पूर्ण खरिद बिल उपलब्ध गराउन निर्देशन दिएको छ।
भिसाको सर्त उल्लंघन गरी व्यापारमा संलग्न जोसिज्याकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।

वाणिज्य, आन्तरिक राजस्व र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले पसलमा आकस्मिक अनुगमन गरेको थियो।
विराटनगरमा नेपालीको नाममा फर्म खडा गरी चिनियाँ नागरिकले व्यापार गरेको भेटिएको यो दोस्रो घटना हो। यसअघि गत असोज ८ गते पनि यहाँको सेन्ट्रल मलस्थित ‘योनो मार्ट’ सञ्चालन गरिरहेका चिनियाँ नागरिक सीए जिङलान पक्राउ परेका थिए।

नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट ‘बिजनेस भिसा’ लिएका सीएले सर्तविपरीत खुद्रा मार्ट चलाएको भेटिएको थियो। अनुगमनका क्रममा सक्कल राहदानीसमेत देखाउन नसकेपछि उनलाई पनि अध्यागमन विभाग बुझाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर