AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा रोकिएन आत्महत्या, ४ वर्षको हालसम्ममा १ हजार बढीले गुमाए ज्यान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०८३, सोमबार ०९:४१
117
Shares
अनुज सापकोटा
विराटनगर/भदौ २५ गते विश्व आत्महत्या रोकथाम दिवस विश्वभर मनाइरहँदा मोरङमा भने आत्महत्याको अवस्था झन् गम्भीर बन्दै गएको तथ्य सार्वजनिक भएको छ ।
आत्महत्या रोकथामका लागि विश्वभर सचेतना, बहस र विभिन्न कार्यक्रम संचालन भइरहे पनि जिल्लामा आत्महत्याका घटना निरन्तर उकालो लाग्नुले रोकथामका प्रयासको प्रभावकारितामाथि नै प्रश्न उठाउने अवस्था बनेको छ ।

आत्महत्या न्यूनीकरणमा सक्रिय ‘आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ’का अनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख ३ हजार मानिसले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेहरूमध्ये ५८ प्रतिशत ५० वर्षभन्दा कम उमेर समूहका हुनु अझ चिन्ताजनक पक्ष हो ।

विश्वमा हुने प्रत्येक १ सय मृत्युमध्ये १ मृत्यु आत्महत्याका कारण हुने तथ्यले यसलाई व्यक्तिगत समस्या मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य तथा सामाजिक संकटका रूपमा स्थापित गरेको छ । नेपालमा  आत्महत्याको समस्या जटिल बन्दै गएको छ । त्यसमा मोरङ आत्महत्याका घटना अत्यधिक हुने जिल्लाको अग्रपंक्तिमा देखिनु थप चिन्ताको विषय हो । जिल्लामा आत्महत्याको संख्या घट्नुको साटो वर्षेनी बढिरहेको तथ्यले रोकथामका परम्परागत प्रयास पर्याप्त नभएको संकेत गर्छ ।

आर्थिक वर्ष २०८०/०८१ मा मोरङमा ३ सय १० जनाले आत्महत्या गरेका थिए । त्यसपछिको आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या बढेर करिब ३ सय २५ पुग्यो । गत आर्थिक वर्ष २०८२/०८३ मा भने आत्महत्याको संख्या थप बढेर ३ सय ३३ पुग्यो । ३ आर्थिक वर्षको अवधिमा मात्रै ९ सय ६८ जनाले आत्महत्याबाट ज्यान गुमाएको आँकडालाई कदापी सन्तोषजनक मान्न सकिँदैन ।

आर्थिक वर्ष २०८२/०८३ को विवरणले आत्महत्याको स्वरूपसमेत भयावह देखाउँछ । आत्महत्या गरेका कुल ३ सय ३३ व्यक्तिमध्ये २ सय ९३ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । तीमध्ये १ सय ८७ पुरुष, ८५ महिला, ११ बालक र १० बालिका थिए । विषादी सेवनबाट ३८ जनाको मृत्यु भएको छ, जसमा २३ पुरुष, १४ महिला र १ बालिका थिए । यसैगरी १ महिलाले आगो लगाएर तथा १ पुरुषले हातहतियार प्रयोग गरेर आत्महत्या गरेका थिए ।

चालु आर्थिक वर्षको शुरुवातसँगै अवस्था सुधारिएको देखिँदैन । आर्थिक वर्ष २०८३/०८४ को साउनमा मात्रै ३५ जनाले आत्महत्या गरे । भदौ २५ गतेसम्मको उपलब्ध तथ्याङ्क हेर्दा थप १८ जनाले आत्महत्या गरिसकेका छन् । यसले आत्महत्या रोकथामका लागि तत्काल र प्रभावकारी हस्तक्षेप आवश्यक रहेको देखाउँछ ।

आत्महत्यालाई केवल व्यक्तिको मानसिक अवस्था वा क्षणिक निर्णयसँग जोडेर हेर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन । पारिवारिक तनाव, आर्थिक संकट, सामाजिक दबाब, सम्बन्धमा उत्पन्न जटिलता, लागुऔषध तथा मदिराको प्रयोग, दीर्घ तनाव र मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता बहुआयामिक कारण पहिचान नगरी रोकथाम सम्भव छैन ।

विश्व आत्महत्या रोकथाम दिवस केवल औपचारिक दिवसका रूपमा मनाउनेभन्दा मोरङमा आत्महत्याको जोखिममा रहेका व्यक्ति पहिचान गर्ने, संकटमा रहेका व्यक्तिका लागि सहज मनोसामाजिक सहयोग उपलब्ध गराउने, विद्यालय तथा समुदाय तहमा मानसिक स्वास्थ्यसम्बन्धी संवाद विस्तार गर्ने र आत्महत्याका साधनमा पहुँच घटाउने ठोस रणनीति आवश्यक देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै मोरङमा आत्महत्याका घटना धेरै घट्ने गरेको बताए । उनले आत्महत्याका घटनाहरू घट्नुपर्ने विभिन्न कारण रहेको बताए । कटवालले हाल मानिसले आफ्नो महत्वकांक्षा पुरा नभएको कारणले, गरिबी, सम्बन्धमा दरार आएको, आफ्नो सपना पुरा नभएको कारण र अझ बढी लागु पदार्थ दुव्र्यसनमा फसेको कारणले आफूले सोचेजस्तो नभएको अवस्थामा मानिसले आत्महत्या गरिरहेको देखिएको बताए ।

एसपी कटवालले आत्महत्या एउटा अपराध हो भनि बताए । मानिसले अनाहकमा अकालमा मृत्यु वरण गर्न नपरोस्भनेर मोरङ प्रहरीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत विभिन्न कार्यालय, विद्यालय, क्याम्पस, समुदायस्तरमा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताए । उनले यतिहुँदाहुँदैपनि मानिस डिप्रेसनका रोगी भएका कारणले, विभिन्न स्वास्थ्योपचारमा आएको चुनौती र आवेगमा पनि आत्महत्या गरिरहेको बताए । एसपी कटवालले आत्महत्या हुन नदिनका लागि परिवार, स्कुल तथा क्याम्पस, समुदाय, अस्पताल, मनोपरामर्शकर्ता लगायतले पहलकदमी गर्नु पर्ने बताए । उनले स्थानीयपालिका तहको प्रत्येक वडामा मनोपरामर्शकर्ताको अभाव आत्महत्याको कारकमध्ये एक हुने गरेको बताए ।

मोरङ प्रहरीले आत्महत्या गर्नै लाग्दाको क्षणमा व्यक्तिको उद्धार गरेको एसपी कटवालको भनाइ छ । २०८३ को साउन महिनामा प्रहरीले ६७ र भदौ २५ गतेसम्ममा ५८ जना व्यक्तिको आत्महत्याको प्रयासबाट उद्धार गरेको छ । आत्महत्याको संख्या बढिरहेको तथ्यले हामी आत्महत्या रोकथामबारे बोलिरहेका मात्र छौँ कि जोखिममा रहेका मानिससम्म वास्तविक सहयोग पनि पु¥याइरहेका छौँ ? भन्ने सवाल खडा भएको छ । आत्महत्या दिवस मनाउने औपचारिकताभन्दा तथ्यमा आधारित निरन्तर हस्तक्षेप र परिणाममुखी रोकथाम आवश्यक रहेको सर्वसाधारणको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर