AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल बिजनेस कलेजको आयोजनामा विराटनगरमा पहिलो पटक राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०८३, शनिबार १७:५७
3
Shares
 विराटनगर / विराटनगरमा पहिलो पटक राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना भएको छ । नेपाल बिजनेस कलेज, विराटनगर–११ को आयोजनामा भएको ‘ई–स्पोर्ट्स ओडिसी सिजन–१’ को अन्तिम चरणको प्रतिस्पर्धामा ‘नेपाल अन टप’ टोलीले उपाधि जितेको छ ।
विराटनगरस्थित मारवाडी सेवा सदनमा भदौ १० गते बिहान १० बजेदेखि सुरु भएको प्रतियोगिता साँझ ६ बजे सम्पन्न भएको हो । प्रतियोगिताको विजेता नेपाल अन टपले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ । ट्रिनेत्र टोली दोस्रो हुँदै ३० हजार रुपैयाँ नगद प्राप्त गर्दा ०७ ई–स्पोर्ट्सले तेस्रो स्थान हासिल गर्दै २० हजार रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा ट्रिनेत्रका युरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उत्कृष्ट खेलाडीको उपाधिसहित पाँच हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेका छन् ।

कलेजका अनुसार राष्ट्रियस्तरको प्रतियोगितामा पहिलो चरणमा देशभरबाट ४३२ टोली सहभागी भएका थिए । तीमध्ये दोस्रो चरणका लागि १४४ टोली छनोट भएका थिए । तेस्रो चरणमा ७२ टोली पुगेका थिए भने त्यसबाट ३६ टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । अन्तिम चरणको प्रत्यक्ष प्रतिस्पर्धाका लागि देशभरबाट १२ टोली छनोट भएका थिए ।

प्रतियोगितामा चौथोदेखि बाह्रौं स्थान हासिल गर्ने टोलीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । चौथो हुने टोलीले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ६ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार ५ सय, दशौंले २ हजार र एघारौं तथा बाह्रौं स्थान हासिल गर्ने टोलीले जनही १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कलेजले प्रतियोगिताका लागि कुल १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि छुट्याएको थियो । विराटनगरमा पहिलोपटक यस स्तरको राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ ।

नेपालमा ई–स्पोर्ट्सको सम्भावना विस्तार हुँदै गएकाले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्ने वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजकी निर्देशक तथा प्रिन्सिपल पिंकी शर्माले बताइन् । विश्वस्तरमा ई–स्पोर्ट्स प्रतियोगिताको लोकप्रियता बढिरहेका बेला नेपालबाट पनि अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउने आधार तयार गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतियोगिताको अन्तिम चरण हेर्न विराटनगर र आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा दर्शक उपस्थित भएका थिए । ई–स्पोर्ट्समा रुचि राख्ने खेलाडीको मनोबल बढाउन यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्नुपर्ने धारणा दर्शकले राखेका थिए ।

अन्तिम चरणमा सहभागी १२ टोलीका ६० भन्दा बढी खेलाडीका लागि कलेजले खाना तथा आवासको व्यवस्थासमेत गरेको थियो । प्रतियोगिताबाट प्राप्त प्रतिक्रिया र खेलाडीको उत्साहलाई आधार बनाएर आगामी दिनमा पनि राष्ट्रियस्तरका ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने कलेजले जनाएको छ ।

शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालित तथा मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल बिजनेस कलेजमा हाल स्नातक तहमा बीबीए, बीआईटी र बीएचएम तथा स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर