AArya
RUMPUM
animated ellipse animated ellipse

अध्यक्षले निर्देशन दिएकै क्षण मुख्यमन्त्रीले पद छाड्नुहुन्छ : शेरधन राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ श्रावण २०८३, आईतवार १८:०५
3
Shares
फाइल तस्वीर
विराटनगर / नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन प्राप्त हुनासाथ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद त्याग गर्ने दाबी गरेका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै राईले मुख्यमन्त्रीको निरन्तरता वा परिवर्तन अध्यक्षको निर्णयमा निर्भर रहने प्रस्ट पारेका हुन् ।

“अध्यक्षले तपाईं छाड्नुस्, अर्को साथीलाई पालो दिनुस् भनेको तत्क्षण, तत्सेकेन्डमै उहाँले छोड्नुहुन्छ,” राईले भने, “पार्टी अध्यक्षको निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता मुख्यमन्त्रीज्यूले जनाइसक्नुभएको छ, यसमा कुनै शंका छैन ।” उनले अहिलेको अवस्थामा कार्कीकै नेतृत्वमा सरकार अघि बढ्ने र केन्द्रमा भएको सहमतिअनुसार नयाँ सत्ता समीकरणको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

एमाले र नेकपा बीच भएको सहमति कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै राईले अबको केही दिनमा सरकारको स्वरूप बदलिने बताए । उनका अनुसार सत्ता साझेदारीको खाका अन्तिम चरणमा पुगेको छ । “सत्ता साझेदारीका विषयमा सोमबार औपचारिक छलफल गरी मन्त्रालय बाँडफाँट र साझा कार्यक्रम टुङ्ग्याउने तयारी छ,” राईले थपे ।
प्रदेश सरकारमा एमालेका ४० र नेकपाका १७ सांसद रहेको उल्लेख गर्दै राईले मन्त्रालयको संख्या नबढाई ६–४ वा ६–३ को अनुपातमा भागबन्डा हुनसक्ने संकेत गरे । नयाँ समीकरणसँगै वर्तमान सरकारमा सहभागी नेपाली कांग्रेस बाहिरिने र नेकपा सरकारमा सामेल हुने प्रक्रिया स्वतः अघि बढ्ने उनको भनाइ छ ।

पार्टीभित्र मुख्यमन्त्री कार्की र इन्चार्ज राईबीच शक्ति संघर्ष रहेको चर्चालाई उनले अस्वीकार गरे । आफूले केवल अध्यक्षको निर्देशन कार्यान्वयनका लागि समन्वय र सहजीकरण मात्र गरेको राईको दाबी छ । “यो कुनै व्यक्तिगत टकराव होइन, दुई दलबीचको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा देखिएको प्राविधिक विषय मात्र हो, जुन अहिले सुल्झिसकेको छ,” उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर